बिनोद पौडेल यथार्थको धरातलमा राजनीति नियाल्दा, चुनावमा नमस्कार गर्दै भोट माग्न आउने नेताहरूलाई हात हल्लाएर बिदाइ गर्ने, अनि चुनावपछि “विकासै गरेनन्” भनेर कुरा काट्ने बाहेक हामी नेपालीहरूले खासै केही गर्न सकेका छैनौँ।
चुनावअघि भोट माग्न आउने नेताहरूसँग “तपाईंहरूको स्पष्ट भिजन के हो?” भनेर प्रश्न गर्न सकेनौँ। चुनावपछि जितेर गएका नेताहरूसँग “घोषणापत्रअनुसार काम किन भएन?” भनेर सामूहिक दबाब सिर्जना गर्न सकेनौँ। यदि यस्तो संस्कार बसेको भए, विकासका कामहरू क्रमिक रूपमा भएनन् भन्न मिल्दैनथ्यो।
विकास नभएको होइन, तर कमिसन र भ्रष्टाचारका कारण विकासको गति अत्यन्तै सुस्त भयो। विकासका विषयमा समेत मत विभाजनजस्तै विभाजन गरियो। विकासको हाउगुजीले नेता र जनता दुवैलाई गिजोल्यो। समाज, परिवार र सम्बन्धहरू समेत विभाजन गर्ने तत्वहरूले फाइदा लिँदा जनतामा विद्रोहको भावना जन्मिन पुग्यो।
स्पष्ट भिजन, एकता, पर्याप्त आर्थिक स्रोत र अनुकूल वातावरण बिना देश बन्दैन। तर हामी नेपालीहरू एक नेतालाई घारे हात लगाउँदै, अर्कोसँग रिसिबी साँच्दै, “पख्लास” भन्दै दिन बिताउनमै सीमित भयौँ। कसैले सिंगापुर बनाइदिन्छु भन्छ, कसैले स्विजरल्यान्ड बनाइदिन्छु भन्छ—कान ठाडो पारेर सुन्छौँ, “यो ठीक रहेछ, त्यो ठीक रहेछ” भन्दै पछिलाग्दालाग्दै समय बितेको पत्तै पाउँदैनौँ।
नातावाद र कृपावादले जकडिएको नेपाली राजनीतिमा स्वार्थको तसलामा आशिर्वादको व्यापार भइरहेको छ, र उत्तरदायी तथा व्यवस्थित राज्य प्रणाली स्थापित नभएसम्म यो जारी नै रहनेछ। देशको ब्युरोक्रेसी स्वयं अव्यवस्थित र स्वार्थले ग्रस्त छ—या ग्रस्त बनाइएको छ—जसका कारण शासन व्यवस्थामा सुधारका लक्षण देखिँदैनन्।
क्यान्सरका बिरामीलाई किमो चढाएर जीवन केही लम्ब्याएजस्तै नेपालको शासन–सत्ता चलिरहेको छ। स्थायी सरकारको परिकल्पनामा सबै दलहरूको लाबालस्करभित्र जनताको अभिमतले कसलाई कति सत्ताको चास्नीमा डुबाउने हो—त्यो हेर्न अझै बाँकी छ।
भिडको ऊर्जामा सुशासनको ढ्वाङ फुक्दै भावनात्मक भाषणले चुनाव जित्ने मनसाय बोकेकाहरूलाई नेपाली जनताले समयमै चिन्न जरुरी छ। समस्या पार्टीभन्दा पनि पात्रमा छ। पुराना पार्टी हुन् वा नयाँ—खराब तत्वको असरबाट कुनै पनि पूर्ण रूपमा मुक्त हुन सकेका छैनन्।
विरोध र असन्तुष्टिका आवाजहरूले नेतृत्वको क्षमतामाथि प्रश्नचिन्ह खडा गर्छन्, अनि विभाजनका रेखाहरू कोरिन थाल्छन्। ती नै विभाजनका सीमारेखाहरूको प्रभाव आज नेपाली समाजमा स्पष्ट देखिन थालेको छ।