सुदूरपश्चिम प्रदेश समाज दक्षिण कोरियाको सम्मान तथा विदाइ भेटघाटमा भावुक बने जितेन्द्र सिंह महता
सिओल, दक्षिण कोरिया
कोरियाली भूमिमा बिताएका वर्षहरूमा कमाएको धन–सम्पत्तिभन्दा पनि आत्मीय सम्बन्ध, विश्वास र सामाजिक सहकार्यलाई जीवनको अमूल्य उपलब्धिका रूपमा स्मरण गर्दै जितेन्द्र सिंह महताले दक्षिण कोरियाबाट आफ्नो विदाइलाई नयाँ यात्राको सुरुवातका रूपमा लिएका छन्।
सुदूरपश्चिम प्रदेश समाज दक्षिण कोरियाले आयोजना गरेको सम्मान तथा विदाइ भेटघाटमा महताले आफूलाई दिइएको माया, सम्मान र आत्मीयताप्रति भावुक हुँदै कृतज्ञता व्यक्त गरे। कोरियाबाट बिदा हुँदै गर्दा समुदायले दिएको न्यानो माया र सम्झना जीवनभरका लागि अमूल्य सम्पत्ति बनेको बताउँदै उनले आगामी दिनमा राष्ट्र र समाजका लागि अझ सकारात्मक योगदान गर्ने प्रेरणा मिलेको उल्लेख गरे।
समाजका अध्यक्ष ओम साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इजरायलका लागि नेपाली पूर्वराजदूत महामहिम धनप्रसाद पण्डित प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा एनसीसी संरक्षक लोचन राई, एनसीसी अध्यक्ष हर्क बिष्ट, समाजका प्रमुख संरक्षक डा. अग्नीराज कोइराला, संरक्षक डा. ईश्वर धामी, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष शुभराज बम्जन, नेपाली जनसम्पर्क समिति कोरियाका उपसभापति खेमराज देवकोटा, महामन्त्री रविप्रताप घिसिङलगायत विभिन्न सामाजिक तथा राजनीतिक संघसंस्थाका अगुवा र प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रममा पूर्वी नेपालका अध्यक्ष केदार निरौला, सल्लाहकार तथा पूर्वअध्यक्ष विजय लामा, क्षेत्रीय सभापति बुद्ध लामा, रामेछाप सम्पर्क समितिका अध्यक्ष आदर्श खड्का, समाजका निवर्तमान अध्यक्ष महेश भट्ट, पूर्वअध्यक्ष एवं निवर्तमान संरक्षक लालबहादुर साउद, पूर्वअध्यक्ष दिलबहादुर मडै, गजलकार कमल संघर्षलगायत सुदूरपश्चिम तथा विभिन्न जिल्लाका अग्रज, सामाजिक अभियन्ता, शुभेच्छुक तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।
विदाइ मन्तव्यका क्रममा महताले कोरियामा बिताएका वर्षहरूलाई केवल रोजगारी र आर्थिक उपलब्धिसँग मात्र जोडेर हेर्न नहुने बताए। उनका लागि यहाँ बितेको समयले धनभन्दा ठूलो कुरा—मानिसहरूको माया, विश्वास, आत्मीयता र सामाजिक सम्बन्ध—दिएको छ।
समाजमा काम गर्दा प्राप्त पद र जिम्मेवारीभन्दा माथि उठेर समुदायबाट पाएको साथ र विश्वास नै आफ्नो सबैभन्दा ठूलो उपलब्धि भएको उनको भनाइ थियो।
उनले आफूलाई सामाजिक यात्रामा साथ दिने अग्रज, अनुज, साथीभाइ तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गर्दै प्राप्त विश्वासलाई आगामी यात्राको ऊर्जा र प्रेरणाका रूपमा लिएको बताए।
सुदूरपश्चिम प्रदेश समाज दक्षिण कोरियाको बुसान शाखाले गतसाता आयोजना गरेको विदाइ तथा सम्मान कार्यक्रममा पनि दर्जनौं नेपालीको सहभागिताबीच महतालाई सम्मानसहित विदाइ गरिएको थियो। लामो समयदेखि कोरियाली नेपाली समुदायको हित र सामाजिक गतिविधिमा सक्रिय महताको योगदानको स्मरण गर्दै बुसान शाखाले आत्मीयतापूर्वक शुभकामना व्यक्त गरेको थियो।
महताले विदाइलाई सम्बन्धको अन्त्यका रूपमा नभई नयाँ यात्राको सुरुवातका रूपमा लिएको बताए। उनका अनुसार मानिसबीचको भौगोलिक दूरी बढ्न सक्छ, तर आत्मीयता र मनको सम्बन्ध दूरीले कमजोर बनाउन सक्दैन। सुदूरपश्चिम प्रदेश समाज तथा कोरियाली नेपाली समुदायसँग आफ्नो सम्बन्ध आगामी दिनमा पनि उत्तिकै आत्मीय रहने उनले स्पष्ट पारे।
कोरियामा बिताएका हरेक क्षण, भेटिएका साथी, प्राप्त माया र शुभेच्छालाई जीवनभर स्मरण गरिरहने बताउँदै उनले आफू कोरियाबाट विदा भए पनि समुदायको माया र सम्झनाबाट कहिल्यै विदा नहुने भाव व्यक्त गरे।
आफूले प्राप्त गरेको माया, सम्मान र विश्वासलाई आगामी दिनको सामाजिक यात्रामा जिम्मेवारीका रूपमा ग्रहण गरेको महतको भनाइ छ।
उनले आफूलाई विश्वास गर्ने समुदायको अपेक्षाअनुसार अझ सकारात्मक र रचनात्मक काम गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कोरियामा निर्माण भएका सामाजिक सम्बन्धलाई आगामी दिनमा पनि निरन्तरता दिने उल्लेख गर्दै उनले राष्ट्र र समाजका लागि आफूले सक्ने योगदान गर्ने प्रतिबद्धता जनाए।
विदाइको भावुक क्षणमा उनले कार्यक्रममा उपस्थित सम्पूर्ण अग्रज, अनुज, सामाजिक तथा राजनीतिक अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुदूरपश्चिमेली, जिल्लावासी तथा शिवनाथ गाउँपालिकावासी दाजुभाइ–दिदीबहिनीप्रति हृदयदेखि नै आभार व्यक्त गरे।
अन्त्यमा सबैको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै महतले आफूलाई दिएको माया र सम्मानप्रति ‘कोटि–कोटि धन्यवाद, आभार र नमन’ व्यक्त गरे।
कोरियामा करिब १५ वर्ष बिताएका महता सुदूरपश्चिम प्रदेश समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष तथा नेपाली जनसम्पर्क समिति कोरियाका पूर्वउपसभापति हुन्। लामो समयदेखि कोरियामा रहेका नेपालीहरूको हित, सामाजिक सहकार्य र समुदायका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका उनी अब स्वदेशमै केही गर्ने सोचका साथ नेपाल फर्किन लागेका हुन्।
त्यसैगरी दक्षिण कोरियामा नेपाली समुदायको सामाजिक संगठनात्मक यात्रामा लामो इतिहास बोकेको नेपाली सम्पर्क समिति (एनसीसी), कर्णाली प्रदेश समाज दक्षिण कोरियालगायत विभिन्न सामाजिक संघसंस्थाहरूले समेत महतालाई सम्मान तथा प्रशंसापत्र प्रदान गर्दै विदाइ गरेका छन्।
कोरियाली नेपाली समुदायसँगको आत्मीय सम्बन्ध, सामाजिक यात्राका स्मृति र नयाँ जिम्मेवारीको संकल्प बोकेर महताको विदाइले एउटा यात्रा टुंग्याएको छ; तर सम्बन्ध, सम्झना र सामाजिक योगदानको अर्को अध्याय भने अझै बाँकी रहेको सन्देश दिएको छ।




