सौल, दक्षिण कोरिया। नेपालमा आएको बाढी तथा अन्य प्राकृतिक विपत्तिका कारण दुर्घटनामा परेका, उपचाररत वा सम्पर्कविहीन नेपालीमध्ये दक्षिण कोरियामा रहँदा हुण्डाई बीमा कम्पनी वा अन्य कुनै बीमा कम्पनीमा बीमा गरेका व्यक्ति भए जानकारी गराउन हुण्डाई बीमाका अमृत पाठकले आग्रह गरेका छन्।
कोरियाबाट बिदामा नेपाल गएका बेला बाढी, पहिरो वा अन्य प्राकृतिक विपत्तिका कारण कुनै नेपालीको दुर्घटनाजन्य मृत्यु भएको, घाइते भएको वा सम्पर्कविहीन भएको अवस्थामा सम्बन्धित व्यक्तिले कोरियामा गरेको बीमाअनुसार सुविधा प्राप्त गर्न सक्ने पाठकले बताएका छन्।
सम्बन्धित बीमा योजनाको सर्त तथा बीमा रकमअनुसार दुर्घटनाजन्य मृत्यु भएको अवस्थामा मृतकका परिवारले करिब एक करोडदेखि तीन करोड रुपैयाँसम्म बीमा रकम प्राप्त गर्न सक्ने उनले जानकारी दिए। यद्यपि वास्तविक रूपमा प्राप्त हुने रकम सम्बन्धित व्यक्तिले गरेको बीमाको प्रकार, बीमाले समेटेको जोखिम तथा सम्बन्धित कम्पनीको दाबी परीक्षण र स्वीकृतिमा निर्भर रहनेछ।
त्यस्तै, बाढी वा अन्य दुर्घटनाका कारण घाइते भई नेपालमा उपचार गराइरहेका व्यक्तिले पनि आफूले कोरियामा गरेको बीमाको सर्तअनुसार उपचार खर्च प्राप्त गर्न सक्ने पाठकले बताएका छन्।
बीमा नेपाली, कोरियाली वा अन्य विदेशी प्रतिनिधिमार्फत गरिएको भए पनि फरक नपर्ने उल्लेख गर्दै उनले सम्बन्धित व्यक्तिको बीमा सक्रिय रहेको र घटना बीमाले समेट्ने अवस्थाभित्र परेको भए परिवारले आवश्यक कागजातसहित बीमा रकमका लागि दाबी गर्न सक्ने बताए।
त्यसैले हाल नेपालमा आएको बाढीका बेला कोरियाबाट बिदामा नेपाल गएकामध्ये कोही सम्पर्कविहीन, दुर्घटनामा परेका वा उपचाररत रहेको जानकारी भए आफूलाई वा सम्बन्धित बीमा कम्पनीलाई जानकारी गराउन पाठकले अनुरोध गरेका छन्।
साथै, उनले दक्षिण कोरियामा रहेका पत्रकार, सामाजिक सञ्जालमा सक्रिय व्यक्तिहरू तथा नेपाली समुदायका अगुवाहरूलाई यो सूचना सकेसम्म धेरै नेपाली परिवारसम्म पुर्याउन सहयोग गर्न आग्रह गरेका छन्।
समयमै प्राप्त एउटा सूचनाले विपत्तिको कठिन घडीमा रहेको नेपाली परिवारलाई ठूलो आर्थिक राहत प्राप्त गर्ने प्रक्रियामा सहयोग पुग्न सक्ने भन्दै पाठकले यो जानकारी आफूमा मात्र सीमित नराखी अरूसम्म पुर्याउनसमेत अनुरोध गरेका छन्।
“दुःखको समयमा एक नेपाली अर्को नेपालीको सहारा बनौँ,” पाठकले भने।