नयाँ दैनिकी/सिओल
नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाको आयोजनामा ‘भाद्र १० को भोटेकोशी बाढीको असर र पुनर्निर्माणको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ।
आगामी सेप्टेम्बर १३ तारिख आइतबार दिउँसो १२:३० बजे सिओलमा आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेल प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
नवीकरणीय ऊर्जा, जलवायु परिवर्तन, सार्वजनिक नीति तथा दिगो विकासका विज्ञ पोखरेलसँग प्राज्ञिक, नीतिगत तथा विकास व्यवस्थापन क्षेत्रमा लामो अनुभव रहेको छ।
अन्तरक्रियामा भोटेकोशी बाढीले पारेको असर, प्रभावित समुदायको वर्तमान अवस्था तथा आगामी पुनर्निर्माणका विषयमा छलफल गरिने आयोजकले जनाएको छ। विशेषगरी दिगो तथा विपद् उत्थानशील पुनर्निर्माणका सम्भावित उपाय र आगामी बाटोबारे विज्ञसहित सहभागीहरूबीच विचार आदानप्रदान हुने बताइएको छ।
नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले कार्यक्रममा सहभागी भई छलफललाई प्रभावकारी बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेको छ।
कार्यक्रम सिओलमा आयोजना हुने भए पनि विस्तृत ठेगाना भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ।