नयाँ दैनिकी/सौल
दक्षिण कोरियामा नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र मनोरञ्जनलाई थप सुदृढ गर्ने उद्देश्यसहित मोक्पो फुटबल क्लब दक्षिण कोरियाले पहिलो संस्करणको ‘मोक्पो एफसी कप–२०२६’ आयोजना गर्ने भएको छ। “सुख–दुःख, खेलकुद र मनोरञ्जनको संगालो” भन्ने मूल भावनासहित आयोजना हुन लागेको प्रतियोगिता आगामी अक्टोबर ४ तारिख, आइतबार दक्षिण कोरियाको जन्नाम ग्वाङ्जु–गुन, साम्हो–उप, देबुलजुगो १९–२१ स्थित खेलमैदानमा सञ्चालन हुनेछ।
मोक्पो साम्हो साझा चौतारीसँगको सम्बन्धमा अघि बढाइएको प्रतियोगिता ७ ‘ए’ साइड फुटबल प्रारूपमा हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीले सेप्टेम्बर २६ सम्म टिम दर्ता गरिसक्नुपर्नेछ भने सेप्टेम्बर २७ मा टाइ–सिट सार्वजनिक गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रवेश शुल्क ४ लाख वन तोकिएको छ।
प्रतियोगिताको विजेताले ४१ लाख वन नगदसहित ट्रफी प्राप्त गर्नेछ। यस्तै उपविजेताका लागि २२ लाख वन, सेमिफाइनलिस्टका लागि ४ लाख वन पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कार राखिएको छ। उत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार वन, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समान १–१ लाख वन प्रदान गरिनेछ।
आयोजकका अनुसार प्रतियोगितालाई केवल प्रतिस्पर्धात्मक खेलका रूपमा मात्र नभई दक्षिण कोरियामा रहेका नेपालीबीच भाइचारा, आत्मीयता र सामाजिक एकताको माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। विभिन्न क्षेत्र र क्लबबाट सहभागी हुने नेपाली खेलाडीहरूले आफ्नो खेल प्रतिभा प्रदर्शन गर्ने अवसरसमेत पाउनेछन्।
मोक्पो साम्हो साझा चौतारीका अध्यक्ष विक्रम गिरीले प्रतियोगिताले खेलकुदमार्फत नेपाली समुदायलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार विदेशमा रहेर पनि नेपालीहरूको मौलिक उत्साह, आपसी सहयोग र एकताको भावना जीवित राख्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्छन्। “खेलकुद केवल जित र हारको विषय होइन, यसले आपसी सम्बन्ध बलियो बनाउने, नयाँ पुस्तालाई जोड्ने र नेपाली समुदायबीच आत्मीयता बढाउने काम गर्छ,” अध्यक्ष गिरीले बताएका छन्।
मोक्पो फुटबल क्लबले प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र सम्झनलायक बनाउन आवश्यक तयारीलाई तीव्र बनाएको जनाएको छ। आयोजकले दक्षिण कोरियाका विभिन्न क्षेत्रमा रहेका नेपाली फुटबल टोलीलाई समयमै टिम दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।
आकर्षक पुरस्कार राशि, ७ ‘ए’ साइडको रोमाञ्चक प्रतिस्पर्धा र नेपाली समुदायको उल्लेख्य सहभागिताका कारण ‘मोक्पो एफसी कप–२०२६’ दक्षिण कोरियामा नेपाली फुटबलप्रेमीका लागि प्रतीक्षित खेलकुद उत्सव बन्ने देखिएको छ।