नयाँ दैनिकी/सौल
कर्णालीको मौलिक लोकसंस्कृति, डेउडाको मिठास र सामाजिक सेवाको अभियानलाई एउटै मञ्चमा जोड्दै कर्णाली प्रदेश समाज दक्षिण कोरियाले आगामी २६ सेप्टेम्बर २०२६ मा आयोजना गर्न लागेको ‘रारा सांगीतिक सौगात–२’ लोक तथा डेउडा साँझको सम्पूर्ण तयारी पूरा भएको छ।
कार्यक्रममा नेपालबाट सहभागी हुन आउने सबै कलाकारले दक्षिण कोरियाको भिसासमेत प्राप्त गरिसकेको आयोजकले जनाएको छ। कलाकारहरूको भिसा प्रक्रिया सम्पन्न भएसँगै आयोजक अहिले कलाकारहरूको दक्षिण कोरिया आगमन तथा कार्यक्रमस्थलको अन्तिम व्यवस्थापनमा केन्द्रित भएको छ।
कोरियालीहरूको प्रमुख पर्व छुसकको अवसर पारेर आयोजना गर्न लागिएको यो कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई कर्णालीका दुर्गम क्षेत्रमा स्वास्थ्य तथा शिक्षाको पहुँच विस्तार गर्ने सामाजिक उद्देश्यसँग समेत जोडिएको छ।
आयोजकका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, विपन्न तथा असहाय विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग तथा संस्थाको आपत्कालीन राहत कोषलाई थप मजबुत बनाउन उपयोग गरिनेछ।
कर्णालीको पहिचान बोकेको डेउडा, लोकसंगीत र मौलिक सांस्कृतिक प्रस्तुतिमार्फत प्रवासमा रहेका नेपालीलाई आफ्नो माटो, भाषा, संस्कृति र सामाजिक दायित्वसँग जोड्ने लक्ष्य कार्यक्रमले लिएको छ।
‘रारा सांगीतिक सौगात–२’ मा नेपालबाट आउने चर्चित कलाकारसँगै दक्षिण कोरियामा रहेका स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहनेछ।
कार्यक्रममा चर्चित गायिका ईब्सल सन्ज्याल, लोक तथा डेउडा गायिका गौरी भट्ट, लोक तथा डेउडा गायक कमल बिरही थापा, गायक युबराज शर्मा, गायिका गिता चनारा, लोकगायक पृथ्वी मगर तथा डान्सर शारदा पुन लगायतका कलाकारले प्रस्तुति दिनेछन्।
कर्णालीको मौलिक डेउडा भाकादेखि नेपाली लोकसंगीत र नृत्यसम्मका विविध प्रस्तुतिले छुसकको अवसरमा सउलमा नेपाली सांगीतिक माहोल सिर्जना गर्ने अपेक्षा आयोजकले गरेको छ।
प्रवासी भूमिमा आयोजना हुने सांगीतिक कार्यक्रमहरू प्रायः मनोरञ्जनमा केन्द्रित हुने गरे पनि ‘रारा सांगीतिक सौगात–२’ ले मनोरञ्जनसँगै सामाजिक सेवाको सन्देश जोड्ने प्रयास गरेको छ। कार्यक्रमबाट प्राप्त सहयोग कर्णालीका वास्तविक आवश्यकता बोकेका समुदायसम्म पुर्याउने गरी सामाजिक अभियान अघि बढाइने आयोजकको भनाइ छ।
भौगोलिक विकटताका कारण कर्णालीका कतिपय समुदाय अझै पनि सहज स्वास्थ्य तथा शैक्षिक सेवाको पहुँचबाट टाढा छन्। त्यस्ता समुदायलाई लक्षित गरी कार्यक्रमबाट संकलित स्रोत परिचालन गर्ने योजनाले ‘रारा सांगीतिक सौगात–२’ लाई सांस्कृतिक उत्सवसँगै सामाजिक सेवाको अभियानका रूपमा समेत अर्थपूर्ण बनाएको छ।
कार्यक्रम २६ सेप्टेम्बर २०२६ मा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम 성동차차차 스텐드빠 나이트, 서울특별시 중구 흥인동 15번지 मा आयोजना हुनेछ।
आयोजकका अनुसार कार्यक्रमस्थल सउल मेट्रो लाइन २/६ को 신당역 (Sindang Station), गेट नं. १२ बाट करिब २०० मिटर अगाडि रहेको छ।
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले छुसकको अवसरमा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली तथा नेपाली लोकसंगीतप्रेमीलाई कार्यक्रममा सहभागी भई कर्णालीको कला, संस्कृति र सामाजिक सेवाको अभियानलाई साथ दिन हार्दिक आह्वान गरेको छ।