बिनोद पौडेल,सोल। दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योल विरुद्ध दर्ता गरिएको विद्रोह तथा अधिकार दुरुपयोगसम्बन्धी मुद्दामा विशेष अभियोजक टोलीले मृत्युदण्ड को माग गरेको छ।
विशेष अभियोजक चो युन–सक (Cho Eun-seok) नेतृत्वको टोलीले मंगलबार सोल केन्द्रीय जिल्ला अदालतमा भएको सजाय निर्धारणसम्बन्धी बहसका क्रममा युनलाई कानुनले व्यवस्था गरेको सबैभन्दा कडा सजाय दिनुपर्ने दाबी गरेको हो। अभियोजकका अनुसार विद्रोहको नेतृत्व गर्ने व्यक्तिका लागि मृत्युदण्ड नै कानुनी रूपमा सम्भव उच्चतम सजाय हो।
यदि युन दोषी ठहरिएमा, उनी दक्षिण कोरियाको इतिहासमा विद्रोहको अभियोगमा सजाय पाउने दोस्रो पूर्वराष्ट्रपति हुनेछन्। यसअघि पूर्वराष्ट्रपति चुन दू–ह्वान लाई सन् १९९६ मा विद्रोहको अभियोगमा मृत्युदण्ड सुनाइएको थियो, जुन पछि आजीवन कारावास मा घटाइएको थियो। यद्यपि उनलाई सन् १९९७ मा माफी दिइएको थियो। सोही मुद्दामा सहअभियुक्त तथा चुनका उत्तराधिकारी पूर्वराष्ट्रपति रो ते–उ लाई १७ वर्षको कारावास सजाय सुनाइएको थियो।
न्यायाधीश जी क्वि–युन को इजलासमा अभियोजन पक्षले भन्यो,
“विद्रोह संविधानले स्थापना गरेको मौलिक लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर प्रहार हो।”
अभियोजनका अनुसार युन सुक–योलले आफ्नो दीर्घकालीन तानाशाही शासन सुनिश्चित गर्ने उद्देश्यले मार्शल ल (सैनिक शासन) घोषणा गरेका थिए। अभियोजक पक्षले युन तथा उनका सहयोगीहरूले गरेको अपराध पूर्वराष्ट्रपति चुनको घटनाभन्दा पनि झनै गम्भीर रहेको दाबी गरेको छ।
युनविरुद्धको विद्रोहसम्बन्धी मुद्दामा अदालतको अन्तिम फैसला आगामी फेब्रुअरीमा आउने अपेक्षा गरिएको छ।
यसै मुद्दामा युनसँगै सैन्य र प्रहरीका सात जना उच्च पदस्थ पूर्व अधिकारीहरू पनि अभियुक्त छन्। विशेष अभियोजकले पूर्व रक्षामन्त्री किम योङ–ह्युन लाई आजीवन कारावास, तथा कोरिया रक्षा गुप्तचर कमाण्डका पूर्व कमाण्डर नो सांग–वन लाई ३० वर्षको कारावास सजाय माग गरेका छन्।