दक्षिण कोरियाको मोक्पोमा मोक्पो साम्हो साझा चौतारीअन्तर्गत मोक्पो क्रिकेट क्लब (MCC) को आयोजनामा सम्पन्न ३rd MCC CUP–2026 भव्यताका साथ सम्पन्न भएको छ। सेप्टेम्बर ६ मा आयोजित प्रतियोगितामा विभिन्न टोलीको सहभागिता रहेको थियो।
प्रतियोगिताको उपाधि Sudurpaschim Royal CC ले जित्दै ३० लाख कोरियन वन पुरस्कार प्राप्त गरेको छ। Jeonju United N.CC उपविजेता बन्दै १५ लाख वन प्राप्त गरेको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै Niraj Dhami ले ४९ रन र ५ विकेटसहित Man of the Tournament को उपाधि जिते। त्यसैगरी Jeonju United का Naresh Dhami ले ९२ रनसहित Best Batsman तथा Niraj Gautam ले ६ विकेटसहित Best Bowler को पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको विशेष आकर्षणका रूपमा विजेता Sudurpaschim Royal CC ले आफ्नो पुरस्कार रकमबाट नेपालमा हालै आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित पीडितका लागि १० लाख कोरियन वन सहयोग गर्ने घोषणा गरेको छ। उक्त मानवीय निर्णयको मोक्पो साम्हो साझा चौतारीले उच्च प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेको छ।
कार्यक्रमका क्रममा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा उद्धारको पर्खाइमा रहेकाहरूको शीघ्र सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।
प्रतियोगिता सफल बनाउन मोक्पो क्रिकेट क्लबका आयोजक, व्यवस्थापन समिति, स्वयंसेवक, खेलाडी, प्रायोजक, सहयोगी संघसंस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्णप्रति आयोजकले आभार व्यक्त गरेको छ।
खेलकुदलाई प्रतिस्पर्धासँगै सामाजिक एकता, भाइचारा, सहयोग र मानवीय उत्तरदायित्वसँग जोड्दै सम्पन्न भएको ३rd MCC CUP–2026 ले दक्षिण कोरियामा नेपाली समुदायबीचको एकता र सामाजिक सद्भावको सकारात्मक सन्देश दिएको छ।