अशोक मैनाली ,ग्यङ्जु, दक्षिण कोरिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरियाको राजकीय भ्रमणमा बुधबार ग्यङ्जु पुगेका छन्। ग्यङ्जु नेशनल म्युजियममा भएको भव्य समारोहमा दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युंगले उनलाई देशको सर्वोच्च राष्ट्रिय सम्मान ‘ग्रान्ड अर्डर अफ मुगुङह्वा’ प्रदान गर। यो सम्मान पाउने उनी पहिलो अमेरिकी राष्ट्रपति बनेका छन्।
राष्ट्रपति लीले ट्रम्पलाई स्वागत गर्दै भने, “किम जोङ–उनले तपाईंको सत्य उद्देश्य बुझ्न सकेका छैनन्, तर तपाईंको शान्तिपूर्ण प्रयासले कोरियाली प्रायद्वीपमा शान्तिको न्यानो वातावरण सिर्जना गरेको छ।”
उनीहरूले पछिल्लो समयमा सम्भव न भएको ट्रम्प–किम भेटबारे पनि दुःख व्यक्त गरे तर संवादका ढोका अझै खुला रहेको सन्देश दिए।
ट्रम्पले जवाफ दिँदै भने, “म कोरियाली प्रायद्वीपको भविष्य शान्तिपूर्ण देख्छु। तपाईंहरूको सहयोगमा हामी यो द्वन्द्वलाई अन्त्य गर्नेछौं। केही समय लाग्न सक्छ, तर यो सम्भव छ भन्नेमा म पूर्ण विश्वस्त छु।”
ट्रम्पले आफ्नो भ्रमणको क्रममा उत्तर कोरियाली नेता किम जोङ–उन सँग पुनः भेट गर्ने इच्छा प्रकट गरे पनि प्योङयाङले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
बैठकमा राष्ट्रपति लीले कोरिया–अमेरिका सम्बन्धलाई “आधुनिक र भविष्यमुखी रणनीतिक साझेदारी” का रूपमा विस्तार गर्नुपर्नेमा जोड दिए। उनले अमेरिकाको सुरक्षाभार कम गर्न दक्षिण कोरियाले रक्षा बजेट अझ बढाउने प्रतिबद्धता जनाए।
राष्ट्रपति लीले ट्रम्पसँग दक्षिण कोरियालाई न्यूक्लियर–पावर सबमरीन को इन्धन प्रयोगको अनुमति दिन आग्रह गरे। उनले स्पष्ट गरे कि यो “आणविक हतियारका लागि होइन, तर समुद्री सुरक्षाको क्षमता विस्तारका लागि हो।”
ट्रम्पले दक्षिण कोरियासँग जहाज निर्माण क्षेत्रमा सहकार्य सुदृढ गर्न सहमति जनाए र भने“जहाज निर्माण अहिले रणनीतिक आवश्यकता बनेको छ, हामी मिलेर विश्व बजारमा नेतृत्व गर्न सक्छौं।”
सम्मान ग्रहणपछि ट्रम्पले भावुक हुँदै भने,“यो सम्मान केवल मका लागि होइन, सम्पूर्ण अमेरिकी जनताका लागि ठूलो गौरव हो। कोरियाली जनताको आतिथ्य र मित्रता अद्भुत छ।”
ट्रम्पको विमान बिहान करिब ११:४० बजे बुसानको गिमहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। उनलाई २१ तोप सलामी र सम्मान गार्डका साथ स्वागत गरिएको थियो। त्यसपछि उनी राष्ट्रपति लीसँगको बैठकका लागि हेलिकप्टर ‘मरीन वन’ मार्फत करिब ८० किलोमिटर टाढा रहेको ग्यङ्जु पुगे।
राष्ट्रपतिको कार्यालयका अनुसार यो भेट राष्ट्रपति लीको प्रशासन सुरु भएको १४७ दिनमै भएको पारस्परिक भ्रमण हो। कोरियाको इतिहासमा सबैभन्दा छोटो अवधिमा भएको उच्चस्तरीय बैठक र ट्रम्प दुईपटक राजकीय भ्रमण गर्ने पहिलो विदेशी राष्ट्रप्रमुख बनेका छन्।
एशियाली शक्ति समीकरणमा नयाँ संकेत
विश्लेषकहरूका अनुसार ट्रम्पको भ्रमणले एसियामा शक्ति सन्तुलनमा नयाँ सन्देश दिएको छ।ट्रम्पले उत्तर कोरियासँग वार्ता खुला राख्दै, चीनसँग संवाद सुरु गरेर दुई ध्रुवबीच सन्तुलन देखाउन खोजेका छन्। यो भ्रमणले दक्षिण कोरिया–अमेरिका सम्बन्धलाई सैन्य, आर्थिक र रणनीतिक दृष्टिले सुदृढ बनाउने सन्देश दिएको छ।