प्रवासमा रहेर पनि मातृभूमिको पीडा, आवश्यकता र सामाजिक दायित्वलाई आफ्नो जिम्मेवारीका रूपमा आत्मसात् गर्दै आएको रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाले दुर्गम भेगको स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यसहित विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
‘प्रवासी एकता आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता’ भन्ने मूल भावनाका साथ समितिले आगामी सेप्टेम्बर २४, २०२६ मा सउलमा ‘रामेछाप सांगीतिक साँझ तथा रात्रीभोज कार्यक्रम–२०२६ (भाग–२)’ आयोजना गर्न लागेको हो।
सामाजिक सेवाका लागि आर्थिक स्रोत जुटाउने र प्रवासमा रहेका रामेछापेलीबीच आपसी एकता, आत्मीयता तथा सहकार्यलाई थप बलियो बनाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।
रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले स्थापनाकालदेखि नै मातृभूमि केन्द्रित विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ। बालबालिकाका लागि शैक्षिक छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग, प्राकृतिक विपत्तिका समयमा राहत, कोरियामा रहेका नेपालीहरूले भोग्नुपरेका समस्यामा सहजीकरण तथा कोभिड–१९ महामारीका क्रममा नेपालका अस्पतालहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतका काममा समितिले आफ्नो सामाजिक भूमिका निर्वाह गर्दै आएको छ।
यसै अभियानको निरन्तरताका रूपमा यसपटक रामेछापका दुर्गम तथा विकट क्षेत्रका नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुर्याउने लक्ष्य लिइएको छ। आयोजकका अनुसार प्रवासमा रहेका नेपालीहरूको सानो–सानो सहयोगलाई एकीकृत गरेर जन्मभूमिका आवश्यकतामा अर्थपूर्ण योगदान पुर्याउने प्रयास कार्यक्रमको मूल उद्देश्य हो।
कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका कलाकार तथा स्थानीय प्रतिभाहरूको विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा गायक तीर्थ पाख्रिन, गायक सुनिल दोङ लामा, नृत्य कलाकार मनिषा स्याङ्जी मगर लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ।
त्यसैगरी The Aagani Band को विशेष सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाउनेछ। नेपाली गीत–संगीत, सांस्कृतिक प्रस्तुति र रात्रीभोजसँगै प्रवासमा रहेका रामेछापेली तथा नेपाली समुदायलाई एउटै थलोमा जोड्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
आयोजकले कार्यक्रमलाई केवल मनोरञ्जनको अवसरका रूपमा नभई ‘मनोरञ्जनमार्फत सामाजिक सेवामा योगदान’ गर्ने साझा अभियानका रूपमा लिन सम्पूर्ण कोरियावासी नेपालीलाई आग्रह गरेको छ।
जन्मभूमिको दुर्गम भूगोलमा अझै पनि आधारभूत स्वास्थ्य सेवाको पहुँच सहज हुन नसकेको अवस्थामा प्रवासबाट गरिने सहयोगले स्थानीय समुदायका लागि महत्वपूर्ण अर्थ राख्ने आयोजकको विश्वास छ।
समितिले कोरियामा रहेका सम्पूर्ण रामेछापेली दाजुभाइ, दिदीबहिनी तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सामाजिक अभियानमा हातेमालो गर्न अपिल गरेको छ।
“हाम्रो जन्मभूमिको सेवाका लागि आयोजना गरिएको यस परोपकारी अभियानमा तपाईंहरूको सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ” भन्ने भावनासहित समितिले सबैलाई एकजुट भएर अभियान सफल बनाउन आग्रह गरेको छ।
रामेछाप सांगीतिक साँझ तथा रात्रीभोज कार्यक्रम–२०२६ (भाग–२) आगामी सेप्टेम्बर २४ तारिख, साँझ ६ बजेदेखि सउलस्थित 서울시 종로구 종로 63-8 (2층 파노라마) मा आयोजना हुनेछ।
कार्यक्रमलाई सफल बनाउन आयोजक समितिले कोरियामा रहेका रामेछापेली समुदाय, विभिन्न संघसंस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा नेपाली समुदायसँग सहकार्य र सहभागिताका लागि आग्रह गरेको छ।
समितिका अनुसार कार्यक्रमबाट प्राप्त सहयोगलाई रामेछापका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने सामाजिक कार्यमा उपयोग गरिनेछ।
प्रवासमा कमाएको समय र श्रमबाट मातृभूमिका लागि केही योगदान गर्ने उद्देश्य बोकेको यो अभियानले ‘जहाँ रहे पनि जन्मभूमिप्रतिको जिम्मेवारी मर्दैन’ भन्ने सन्देशलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
रामेछाप सम्पर्क समिति, दक्षिण कोरियाले कार्यक्रमलाई सफल बनाउन सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दै कोरियावासी सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरेको छ।
