दक्षिण कोरियामा क्रियाशील सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था ‘सुदूरपश्चिम समाज, दक्षिण कोरिया’ को नाम परिवर्तन गरी ‘सुदूरपश्चिम प्रदेश समाज, दक्षिण कोरिया’ कायम गरिएको छ।
समाजको विधान संशोधनसम्बन्धी निर्णयअनुसार गत भदौ १६ गते सम्पन्न विधान अधिवेशनबाट संस्थाको नामसहित विधानका विभिन्न महत्वपूर्ण प्रावधान संशोधन गरिएको हो। समाजका अनुसार संस्थाको संरचना, सदस्यता, साधारणसभा, कार्यसमिति, निर्वाचन प्रक्रिया, संरक्षक तथा सल्लाहकारको भूमिका, पदाधिकारीको जिम्मेवारी, संस्थागत अनुशासन र निर्णय प्रक्रियालाई थप स्पष्ट तथा व्यवस्थित बनाइएको छ।
यसअघि कोरियामा क्रियाशील प्रदेशस्तरीय समाजहरूबीच एकरूपता कायम गर्ने उद्देश्यसहित समाजको नाममा ‘प्रदेश’ शब्द थप गर्ने निर्णय गरिएको जनाइएको छ। संशोधित नामअनुसार अब समाजका सम्पूर्ण आधिकारिक पत्राचार, सूचना, विज्ञप्ति तथा संस्थागत गतिविधिमा ‘सुदूरपश्चिम प्रदेश समाज, दक्षिण कोरिया’ प्रयोग गरिनेछ।
समाजले नाम परिवर्तनलाई केवल संस्थागत औपचारिकताका रूपमा नभई दक्षिण कोरियामा रहेका सम्पूर्ण सुदूरपश्चिमेली नेपालीबीच एकता, सद्भाव, सहकार्य र संस्थागत स्थायित्वलाई थप मजबुत बनाउने कदमका रूपमा लिएको जनाएको छ।
विधान संशोधन प्रक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान गर्ने संस्थाका अग्रज, संरक्षक, सल्लाहकार, पूर्व तथा वर्तमान पदाधिकारी, सदस्य एवं शुभेच्छुकप्रति समाजले आभार व्यक्त गर्दै संशोधित विधानलाई संस्थाको सर्वोच्च मार्गदर्शक दस्तावेजका रूपमा पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।
समाजले जात, क्षेत्र, राजनीतिक आस्था वा व्यक्तिगत मतभेदभन्दा माथि उठेर दक्षिण कोरियामा रहेका सम्पूर्ण सुदूरपश्चिमेली तथा नेपाली समुदायको हितमा एकताबद्ध भई अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
“आपसी एकता, सामूहिक उत्तरदायित्व र सुदूरपश्चिम प्रदेश समाज कोरियाको स्थायित्व” भन्ने मूल भावनासहित समाजले आगामी दिनमा संस्थालाई थप लोकतान्त्रिक, पारदर्शी, उत्तरदायी, अनुशासित र संस्थागत रूपमा सुदृढ बनाउने जनाएको छ।


