सौल, दक्षिण कोरिया। कर्णालीको मौलिक लोकसंस्कृति, डेउडाको मिठास र सामाजिक सेवाको अभियानलाई एउटै मञ्चमा जोड्दै कर्णाली प्रदेश समाज दक्षिण कोरियाले आगामी २६ सेप्टेम्बर २०२६ मा ‘रारा सांगीतिक सौगात–२’ लोक तथा डेउडा साँझ आयोजना गर्ने भएको छ।
कोरियालीहरूको प्रमुख पर्व छुसकको अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रम केवल मनोरञ्जनमा सीमित नरही कर्णालीको विकट भूगोलमा स्वास्थ्य सेवा र शिक्षाको पहुँच विस्तार गर्ने सामाजिक उद्देश्यसँग जोडिएको छ। कार्यक्रमबाट संकलित रकम कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, विपन्न तथा असहाय विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग र संस्थाको आपत्कालीन राहत कोषलाई थप मजबुत बनाउन उपयोग गरिने आयोजकले जनाएको छ।
कर्णालीको पहिचान बोकेको डेउडा, लोकसंगीत र मौलिक सांस्कृतिक प्रस्तुतिमार्फत प्रवासमा रहेका नेपालीलाई आफ्नो माटो, भाषा, संस्कृति र सामाजिक दायित्वसँग जोड्ने लक्ष्य कार्यक्रमको रहेको छ।
‘रारा सांगीतिक सौगात–२’ मा नेपालबाट चर्चित कलाकारका साथै दक्षिण कोरियामा रहेका स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहनेछ।
कार्यक्रममा चर्चित गायिका ईब्सल सन्ज्याल, लोक तथा डेउडा गायिका गौरी भट्ट, लोक तथा डेउडा गायक कमल बिरही थापा, गायक युबराज शर्मा, गायिका गिता चनारा, लोकगायक पृथ्वी मगर तथा डान्सर शारदा पुन लगायतले प्रस्तुति दिनेछन्।
कर्णालीको मौलिक डेउडा भाकादेखि लोकसंगीत र नृत्यसम्मका प्रस्तुतिले छुसकको अवसरमा सउलमा नेपाली सांगीतिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।
प्रवासी भूमिमा हुने सांगीतिक कार्यक्रमहरू प्रायः मनोरञ्जनमा केन्द्रित हुने भए पनि ‘रारा सांगीतिक सौगात–२’ ले मनोरञ्जनलाई सामाजिक सेवासँग जोड्ने प्रयास गरेको छ। आयोजकका अनुसार कार्यक्रमबाट प्राप्त सहयोगलाई कर्णालीका आवश्यकता बोकेका समुदायसम्म पुर्याउने गरी सामाजिक अभियान अघि बढाइनेछ।
कर्णालीको भौगोलिक विकटताका कारण अझै पनि स्वास्थ्य तथा शिक्षाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गर्दै कार्यक्रममार्फत संकलित स्रोत परिचालन गर्ने योजनाले यस सांगीतिक साँझलाई सांस्कृतिक उत्सवसँगै सामाजिक अभियानका रूपमा समेत अर्थपूर्ण बनाएको छ।
कार्यक्रम २६ सेप्टेम्बर २०२६ मा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम 성동차차차 스텐드빠 나이트, 서울특별시 중구 흥인동 15번지 मा आयोजना हुनेछ।
आयोजकका अनुसार कार्यक्रमस्थल सउल मेट्रो लाइन २/६ को 신당역 (Sindang Station) गेट नं. १२ बाट करिब २०० मिटर अगाडि रहेको छ।
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले छुसकको अवसरमा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली तथा नेपाली लोकसंगीतप्रेमीलाई कार्यक्रममा सहभागी भई कर्णालीको कला, संस्कृति र सामाजिक अभियानलाई साथ दिन हार्दिक निमन्त्रणा गरेको छ।
