सुदूरपश्चिम प्रदेश समाज, दक्षिण कोरियाले आफ्नो कोष, आर्थिक व्यवस्थापन, सेल्टर सञ्चालन तथा भलिबल खेलकुद गतिविधिसँग सम्बन्धित आर्थिक विवरण सार्वजनिक गर्दै सामाजिक सञ्जालमा पछिल्लो समय फैलिएका टिप्पणी तथा आरोपप्रति आपत्ति जनाएको छ।
समाजले जारी गरेको प्रेस विज्ञप्तिमा संस्थाको कोष कुनै व्यक्तिविशेषको निजी सम्पत्ति नभई विधान, कार्यसमितिका निर्णय तथा प्रचलित नियमअनुसार सञ्चालन हुने संस्थागत सम्पत्ति भएको स्पष्ट पारिएको छ। कोषको आम्दानी, खर्च तथा आर्थिक कारोबार संस्थाले निर्धारण गरेको प्रक्रिया र जिम्मेवार पदाधिकारीहरूको समन्वयमा पारदर्शी ढंगले सञ्चालन हुँदै आएको समाजको दाबी छ।
आन्तरिक आर्थिक विषयमा कुनै प्रश्न, सुझाव वा जिज्ञासा भए सम्बन्धित निकाय तथा जिम्मेवार पदाधिकारीसमक्ष प्रमाणसहित राख्न सकिने व्यवस्था हुँदाहुँदै सामाजिक सञ्जालमार्फत तथ्य पुष्टि नगरी भ्रम सिर्जना गर्ने, संस्थाको प्रतिष्ठामा आँच पुर्याउने तथा व्यक्तिविशेषको चरित्रमाथि प्रश्न उठाउने गतिविधि स्वीकार्य नहुने समाजले जनाएको छ।
समाजले आलोचना, सुझाव र प्रश्नलाई संस्थागत सुधारका लागि सकारात्मक रूपमा लिने स्पष्ट पार्दै व्यक्तिगत आरोप–प्रत्यारोप र असत्य तथा अस्पष्ट विषयलाई आलोचनाको नाममा प्रश्रय दिन नसकिने जनाएको छ। यस्ता गतिविधिले सम्बन्धित व्यक्तिको मात्र नभई समग्र संस्था, सदस्य तथा शुभेच्छुकको भावनामा समेत असर पार्ने भएकाले सबैलाई जिम्मेवार र संयमित अभिव्यक्तिका लागि आग्रह गरिएको छ।
समाजले दक्षिण कोरियामा समस्यामा परेका नेपालीलाई सहयोग पुर्याउने उद्देश्यले करिब दुई वर्ष सञ्चालन गरेको सेल्टरसमेत हाल अस्थायी रूपमा बन्द गरिएको जनाएको छ। वर्तमान कार्यसमितिले सेल्टरको उचित व्यवस्थापन तथा दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न नसकेको निष्कर्षपछि तत्कालका लागि बन्द गरिएको र निकट भविष्यमै पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता समाजले व्यक्त गरेको छ।
यसैगरी, भलिबल खेलकुदका क्रममा खेलाडीहरूलाई आधिकारिक कार्यसमितिसँग समन्वय गरी संस्थागत रूपमा वा व्यक्तिगत रूपमा खेल खेलाउने प्रतिबद्धता व्यक्त गरिएको भए पनि केही व्यक्तिले खेलाडीहरूलाई गुमराहमा राखी आफू मात्र भलिबल तथा खेलाडीहरूको पक्षमा रहेको भ्रम सिर्जना गरेको समाजको आरोप छ।
आधिकारिक कार्यसमितिको पक्षमा उभिएका दिन आफूहरूले सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको पनि समाजले जनाएको छ।
समाजले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार १८औँ कार्यसमितिबाट प्राप्त रकम २ करोड २४ लाख ३५ हजार १५४ वन रहेको उल्लेख छ। उक्त रकमबाट विभिन्न सामाजिक तथा संस्थागत प्रयोजनमा खर्च गरिएको समाजले जनाएको छ।
विवरणमा सागर कार्कीको पार्थिव शरीर नेपाल पठाउँदा अस्पताल तथा शवगृह खर्चका लागि १३ लाख ९० हजार वन, दीपक चौधरीको पार्थिव शरीर नेपाल पठाउँदा समाजले बेहोरेको ४० प्रतिशत खर्चबापत ६ लाख ८३ हजार ६९० वन, पार्थिमरा भलिबल कपमा टिम दर्ता तथा खाजाका लागि ४ लाख ५० हजार वन र प्रकाश रोकायलाई नेपाल पठाउन हवाई टिकटबापत ४ लाख ७५ हजार वन सहयोग गरिएको उल्लेख छ।
समाजले सार्वजनिक गरेको विवरणमा कुल खर्च ३० लाख ९६ हजार ६२० वन र बाँकी रकम १ करोड ९३ लाख ३८ हजार ५३४ वन रहेको उल्लेख गर्दै आर्थिक पारदर्शिता र कोष संरक्षणलाई आफ्नो प्राथमिकता भएको जनाएको छ।
समाजका अनुसार निर्वर्तमान कोषाध्यक्षलाई कोषका विषयमा केही व्यक्तिबाट अनावश्यक तनाव सिर्जना भएपछि कार्यसमितिको निर्णयअनुसार उक्त कोष समाजका प्रमुख संरक्षकको नाममा छुट्टै खाता खोली सुरक्षित रूपमा राखिएको हो। यसबारे सबैलाई जानकारी गराउने उद्देश्यले समेत आर्थिक विवरण सार्वजनिक गरिएको समाजले जनाएको छ।
समाजले निर्वर्तमान कार्यसमितिबाट प्राप्त रकम तथा हालसम्म आपत्कालीन अवस्था र भलिबल खेलकुदमा खर्च गरिएको कोषको विवरण सार्वजनिक गर्दै आर्थिक गतिविधिमा पारदर्शिता कायम गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
सार्वजनिक वक्तव्यको अन्त्यमा समाजले संस्थाको हित र एकतालाई केन्द्रमा राख्दै सामाजिक सञ्जालमा हुने अभिव्यक्तिलाई तथ्य, प्रमाण र जिम्मेवारीसँग जोड्न आग्रह गरेको छ। व्यक्तिगत असन्तुष्टि र आरोप–प्रत्यारोपभन्दा संस्थागत मर्यादा, पारदर्शिता र आपसी सहकार्यलाई प्राथमिकता दिनुपर्ने समाजको जोड छ।

