सौल, दक्षिण कोरिया। दक्षिण कोरियामा रहेका नेपाली संगीतप्रेमीलाई लक्षित गर्दै आगामी सेप्टेम्बर २५, २०२६ मा चर्चित गायिका तृष्णा गुरुङ एण्ड द कोल्याब ब्याण्डको सांगीतिक कन्सर्ट आयोजना हुने भएको छ।
नवलपुर समाजको पहिलो प्रस्तुतिका रूपमा आयोजना हुन लागेको उक्त कार्यक्रममा तृष्णा गुरुङ एण्ड द कोल्याब ब्याण्डसँगै गायक अर्जुन सापकोटाको समेत विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रम दक्षिण कोरियाको राजधानी सोलस्थित HW Convention Center, 255 Jahamun-ro, Jongno-gu, Seoul (서울 종로구 자하문로 255) मा आयोजना हुनेछ।
नेपाली गीत–संगीतमार्फत कोरियामा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्नुका साथै आपसी भेटघाट, सद्भाव र एकतालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्था, व्यवसायी तथा सञ्चारमाध्यमहरूले सहकार्य गरेका छन्। नयाँदैनिकी लगायतका सञ्चारमाध्यमहरू कार्यक्रमको मिडिया पार्टनरका रूपमा रहेका छन्।
आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदाय तथा संगीतप्रेमीलाई कार्यक्रममा उपस्थित भई तृष्णा गुरुङ, द कोल्याब ब्याण्ड र अर्जुन सापकोटाको सांगीतिक प्रस्तुतिको मनोरञ्जन लिन आग्रह गरेको छ।
