दक्षिण कोरिया- नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा रेफ्री राजु क्षेत्रीले दक्षिण कोरियाको छुङछङनाम्दो प्रान्तस्थित गुम्सानमा आयोजित ११औँ देजन एमबीसी गुम्सान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका छन्।
अगस्ट ६ देखि १०, २०२६ सम्म आयोजित उक्त प्रतियोगितामा विभिन्न देशका खेलाडी, प्रशिक्षक, रेफ्री तथा खेल पदाधिकारीहरूको सहभागिता रहेको थियो।
लामो समयदेखि दक्षिण कोरियामा रहेर तेक्वान्दो क्षेत्रमा सक्रिय क्षेत्री अनुभवी अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन्। उनले सन् २००८ मा दक्षिण कोरियामा आयोजित चौथो कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको विश्व वरीयता जी-२ प्रतियोगितामा स्वर्ण पदक जितेका थिए।
क्षेत्री कुक्किवन प्राविधिक समितिअन्तर्गत अन्तर्राष्ट्रिय समितिको उपाध्यक्षको जिम्मेवारीमा समेत सक्रिय छन्। उक्त जिम्मेवारी प्राप्त गर्ने उनी पहिलो विदेशी नागरिक भएको बताइएको छ।
प्रतियोगितामा रेफ्रीका रूपमा सहभागी हुन पाउनु आफ्नो लागि ठूलो सम्मान र गौरवको विषय भएको क्षेत्रीले बताएका छन्। उनले प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक, रेफ्री, पदाधिकारी तथा आयोजकलाई बधाई तथा धन्यवाद दिएका छन्।
“खेलाडीहरूको समर्पण, अनुशासन र तेक्वान्दोप्रतिको लगाव साँच्चिकै प्रेरणादायी थियो। अन्तर्राष्ट्रिय तेक्वान्दो परिवारको सदस्यका रूपमा यस प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन पाउनु मेरा लागि सुखद र गौरवपूर्ण अनुभव रह्यो,” क्षेत्रीले भने।
प्रतियोगिता आयोजना भएको गुम्सान दक्षिण कोरियामा जिन्सेङ उत्पादन तथा संस्कृतिका लागि प्रसिद्ध क्षेत्र हो। प्राकृतिक सौन्दर्य, इतिहास, संस्कृति र आत्मीय कोरियाली आतिथ्यका कारण यो क्षेत्र पर्यटकमाझ पनि लोकप्रिय छ। प्रतियोगिताका क्रममा क्षेत्रीले गुम्सानको परम्परागत जिन्सेङ संस्कृति, स्थानीय परिकार तथा कोरियाली आतिथ्य अनुभव गर्ने अवसरसमेत प्राप्त गरेका थिए।



