आगामी जुलाई १२ मा सौलमा आयोजना हुने नेपाली जनसम्पर्क समिति कोरियाको सातौँ अधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको महामन्त्री रामप्रसाद उप्रेतीले बताएका छन्।
महामन्त्री उप्रेतीका अनुसार यसपटकको अधिवेशन विभिन्न दृष्टिकोण र समसामयिक राजनीतिक परिवेशका कारण विशेष महत्वको हुनेछ। नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक राजनीतिक दल नेपाली कांग्रेस पछिल्लो समय संगठनात्मक रूपान्तरण, नयाँ पुस्ताको सहभागिता तथा विभिन्न राजनीतिक उतारचढावको चरणबाट गुज्रिरहेको अवस्थामा कोरियामा रहेका नेपाली कांग्रेस समर्थकहरू यस अधिवेशनलाई नयाँ ऊर्जा र नयाँ नेतृत्व चयन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिरहेका छन्। युवा पुस्ताको भावना र अपेक्षालाई समेट्दै संगठनलाई थप गतिशील बनाउने विषयमा पनि अधिवेशन केन्द्रित रहने विश्वास गरिएको छ।
अधिवेशनको बन्दसत्रमा नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल तथा सचेतक निस्कल राईको विशेष उपस्थिति रहने कार्यक्रम छ। उहाँहरूले नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाली कांग्रेसको नयाँ कार्ययोजना, संगठन सुदृढीकरण, प्रवासी नेपालीहरूको भूमिका तथा पार्टीको भावी रणनीतिबारे विस्तृत छलफल र अन्तरक्रिया गर्ने जनाइएको छ।
महामन्त्री उप्रेतीले अधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरू सक्रिय रूपमा परिचालित भइसकेको जानकारी दिँदै व्यवस्थापन, अतिथि स्वागत, प्रचार–प्रसार, स्वयंसेवक परिचालन तथा अन्य आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए।
आयोजकले कोरियामा रहेका नेपाली कांग्रेस समर्थक, शुभेच्छुक तथा लोकतन्त्रप्रेमी नेपाली समुदायलाई अधिवेशनमा सक्रिय सहभागिता जनाई कार्यक्रमलाई भव्य र सफल बनाउन आग्रह गरेको छ। अधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनलाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।