नेपाली चलचित्र क्षेत्रमा एक्सन स्टारको परिचय बनाएका विराज भट्ट अभिनीत बहुप्रतिक्षित चलचित्र ‘राम नाम सत्य’ अहिले दक्षिण कोरियामा चर्चाको केन्द्र बन्न थालेको छ। गतसातादेखि कोरियाका विभिन्न सहरहरूमा प्रदर्शन सुरु भएको यो चलचित्र अब मे ३१ तारिख आइतबार राजधानी सिओलमा विशेष शोसहित प्रदर्शनमा आउन लागेको हो।
नेपाली समुदायको बाक्लो उपस्थिती रहेको दक्षिण कोरियामा चलचित्रप्रेमी दर्शकमाझ ‘राम नाम सत्य’ प्रति उत्साह उल्लेख्य देखिएको आयोजक पक्षले जनाएको छ। पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चलचित्रबारे चर्चा तीव्र बनेको छ भने विशेषगरी एक्सन शैलीका दर्शकहरू चलचित्र हेर्न आतुर देखिएका छन्।
सिओलमा हुने शो आइतबार दिउँसो २ बजे आयोजना गरिने जनाइएको छ। चलचित्र प्रदर्शन हुने स्थान सिओलको जोंग्रो क्षेत्रमा रहेको ऐतिहासिक सांस्कृतिक प्रदर्शन हलमा तय गरिएको छ। आयोजकका अनुसार कार्यक्रम स्थल नेपाली दर्शकलाई सहज पहुँच हुने स्थानमा रहेकाले उल्लेख्य उपस्थिती रहने अपेक्षा गरिएको छ।
यसअघि पनि चलचित्र दक्षिण कोरियाका विभिन्न सहरहरूमा प्रदर्शन भइसकेको छ। पहिलो चरणका शोहरूमा नेपाली समुदायको उत्साहजनक सहभागिता देखिएपछि आयोजकहरूले थप सहरहरूमा पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन्।
माइकल चन्दको निर्देशनमा निर्माण भएको ‘राम नाम सत्य’ एक्सन, रहस्य, बदला र सामाजिक यथार्थको कथामा आधारित चलचित्र हो। चलचित्रमा विराज भट्टको दमदार एक्सन अवतारलाई दर्शकले विशेष रुचाएका छन्। साथै चलचित्रमा सुशील श्रेष्ठ, सुनिल थापा, सुपुष्पा भट्ट, अर्पण थापा लगायत कलाकारहरूको पनि अभिनय रहेको छ।
चलचित्रको ट्रेलर सार्वजनिक भएयता सामाजिक सञ्जाल र युट्युबमा दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन्। विशेषगरी विराज भट्टको पुरानो एक्सन शैलीलाई नयाँ ढंगले प्रस्तुत गरिएको भन्दै धेरैले चलचित्रलाई नेपाली एक्सन सिनेमाको पुनरागमनको रूपमा व्याख्या गरेका छन्।
दक्षिण कोरियामा नेपाली चलचित्रप्रतिको आकर्षण पछिल्ला वर्षहरूमा निरन्तर बढ्दै गएको छ। यहीक्रममा ‘राम नाम सत्य’ ले पनि कोरियामा रहेका नेपाली दर्शकमाझ नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। आयोजकले चलचित्र प्रेमी सम्पूर्ण नेपाली समुदायलाई सपरिवार उपस्थित भई नेपाली चलचित्र उद्योगलाई साथ दिन आग्रह गरेका छन्।