बझाङ घर भएका भण्डारी ले आफूलाई कम्बोडियामा आकर्षक रोजगारी दिलाइदिने भन्दै लाखौँ रुपैयाँ असुलेर ठगी गरिएको आरोप लगाएका छन्। पीडितका अनुसार वैदेशिक रोजगारीका लागि कानुनी कम्पनीमा काम लगाइदिने आश्वासन दिइएको थियो, तर वास्तविकता फरक रहेको दाबी गरिएको छ।
पीडित भण्डारीका अनुसार आफूबाट करिब ८–९ लाख रुपैयाँ संकलन गरी कम्बोडिया पठाइएको थियो। तर वर्क भिसाको सट्टा भिजिट भिसा मा पठाइएको र कानुनी कम्पनीमा काम लगाइदिने भनिए पनि सुरक्षा गार्डको काममा राखिएको उनको आरोप छ।
उनका अनुसार कम्बोडिया पुगेको करिब एक महिना १५ दिन नपुग्दै कम्पनी बन्द भएपछि आफू समस्यामा परेका थिए। परिस्थिती जटिल बन्दै गएपछि ज्यानको सुरक्षा जोखिम महसुस गर्दै नेपाल फर्किन बाध्य भएको उनले बताएका छन्।
नेपाल फर्किएपछि आफूले तिरेको रकम फिर्ता माग्दा सम्बन्धित पक्षबाट रकम फिर्ता दिनुको सट्टा धम्कीपूर्ण व्यवहार भएको पीडितको गुनासो छ। “जे गर्न सक्छस् गर” लगायतका धम्कीपूर्ण सन्देश र आवाज रेकर्ड आफूहरूसँग सुरक्षित रहेको उनले दाबी गरेका छन्।
पीडितले आफ्नो दाबीलाई पुष्टि गर्नका लागि बैंकमार्फत रकम पठाएको विवरण (Bank Statement), सामाजिक सञ्जाल तथा म्यासेन्जरमा भएका कुराकानीका स्क्रिनसट, प्राप्त धम्कीसम्बन्धी भ्वाइस म्यासेज, आफूसँग प्रमाणका रूपमा रहेको बताएका छन्।
भण्डारीले सम्बन्धित पक्षलाई ७ दिनभित्र रकम फिर्ता गर्न सार्वजनिक आग्रह गरेका छन्। तोकिएको अवधिभित्र रकम फिर्ता नभए सम्बन्धित निकायमा उजुरी दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनी दिएका छन्।
पीडितले घटनाको निष्पक्ष छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गर्न तथा आफ्नो रकम फिर्ता गराइदिन सम्बन्धित निकायसँग माग गरेका छन्।
नोट: माथिका विवरणहरू पीडित पक्षले सार्वजनिक रूपमा गरेको दाबी र आरोपमा आधारित छन्। सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त हुन बाँकी छ।