दक्षिण कोरियाको चर्चित दोबोंसान पर्वत आइतबार नेपाली पहिचान, बुद्धको शान्ति सन्देश र नेपालको प्राकृतिक सौन्दर्यले रंगिएको देखिन्थ्यो। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाले विगत सन् २००८ देखि निरन्तर सञ्चालन गर्दै आएको ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानलाई यसपटक पनि विशेष उत्साहका साथ निरन्तरता दिएको हो।
नेपालको राष्ट्रिय झण्डा, बुद्धका प्रेरणादायी सन्देश र नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी ब्यानर बोकेका नेपालीहरू दोबोंसानको उकालो चढ्दै गर्दा त्यहाँ उपस्थित विदेशी नागरिकको ध्यानसमेत आकर्षित भएको थियो। कार्यक्रम केवल पर्वतारोहणमा सीमित रहेन, यसले नेपाल बुद्धको जन्मभूमि मात्र नभई विश्वकै उत्कृष्ट हिमाली पर्यटन गन्तव्य भएको सन्देश पनि अन्तर्राष्ट्रिय समुदायसम्म प्रवाह गर्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बिपिन गुरुङले यस्ता अभियानले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले नेपाली समुदाय विदेशमा रहे पनि आफ्नो देशको संस्कृति, इतिहास र पर्यटन प्रवर्द्धनप्रति निरन्तर जिम्मेवार रहेको उल्लेख गरे।
महासचिव नरेश शर्माले सन् २००८ देखि निरन्तर सञ्चालन हुँदै आएको यो अभियान एनआरएनएको पहिचानसँग जोडिएको महत्वपूर्ण कार्यक्रम बनेको बताए। उनका अनुसार बुद्धको जन्मभूमि नेपाल भन्ने ऐतिहासिक सत्यलाई विश्वसामु सशक्त रूपमा प्रस्तुत गर्नुका साथै नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय तहमा उजागर गर्नु अभियानको मुख्य उद्देश्य हो।
संस्थाका संरक्षक प्रकाश धमलाले कार्यक्रमको शैली प्रभावकारी र सन्देशमूलक रहेको प्रतिक्रिया दिए। उनले विदेशी भूमिमा बसेर पनि मातृभूमिको गौरव विश्वसामु चिनाउने कार्य अत्यन्त प्रेरणादायी भएको उल्लेख गर्दै आगामी दिनमा अझ रचनात्मक तथा राष्ट्रहितका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
वरिष्ठ सल्लाहकार, विशिष्ट सल्लाहकार, संरक्षक, पदाधिकारी तथा दक्षिण कोरियामा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले नेपालको झण्डासहित शान्ति, पर्यटन र राष्ट्रिय पहिचानका सन्देश बोकेर सामूहिक पदयात्रा गरेका थिए।
दोबोंसानको उचाइमा पुगेपछि नेपाली समुदायले एउटै स्वरमा दिएको सन्देश स्पष्ट थियो- “बुद्ध नेपालमा जन्मिएका हुन्, र नेपाल विश्वलाई शान्ति, संस्कृति र प्राकृतिक सौन्दर्य प्रदान गर्ने अद्वितीय भूमि हो।”