गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाले “Buddha Was Born in Nepal” भन्ने ऐतिहासिक सत्यलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रभावकारी रूपमा प्रवाह गर्ने उद्देश्यसहित दक्षिण कोरियाको प्रसिद्ध दोबोंसान पर्वतमा विशेष आरोहण कार्यक्रम आयोजना गर्ने भएको छ।
संघले सन् २०२६ मे १७ तारिख आइतबार आयोजना गर्न लागेको उक्त कार्यक्रम धार्मिक तथा सांस्कृतिक अभियानमा मात्र सीमित नभई नेपालको हिमाल आरोहण, पर्यटन प्रवर्द्धन तथा प्राकृतिक सौन्दर्यको अन्तर्राष्ट्रिय प्रचारसँग जोडिएको विशेष अभियानका रूपमा अघि बढाइएको जनाएको छ।
एनआरएनए दक्षिण कोरियाले विगत केही वर्षदेखि निरन्तर रूपमा “Buddha Was Born in Nepal” अभियान सञ्चालन गर्दै आएको छ। विभिन्न अन्तर्राष्ट्रिय मञ्च, सांस्कृतिक कार्यक्रम तथा सचेतनामूलक गतिविधिमार्फत नेपालको गौरवशाली पहिचानलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्दै आएको संस्थाले यसपटक उक्त अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउन दक्षिण कोरियाको चर्चित दोबोंसान पर्वतलाई रोजेको जनाएको छ।
संघका अध्यक्ष विपिन गुरुङका अनुसार भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सत्यलाई विश्व समुदायमाझ अझ सशक्त रूपमा स्थापित गर्नुका साथै नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचार–प्रसार गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो। उहाँले नेपाल विश्वकै उत्कृष्ट हिमाल आरोहण गन्तव्य भएको उल्लेख गर्दै नेपालका हिमश्रृंखला, पदयात्रा मार्ग तथा साहसिक पर्यटनको अथाह सम्भावनालाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, एनआरएनए दक्षिण कोरियाका महासचिव नरेश शर्माले “Buddha Was Born in Nepal” अभियान नेपालको इतिहास, सभ्यता र राष्ट्रिय पहिचानसँग जोडिएको गौरवको विषय भएको बताउनुभयो। उहाँले दोबोंसान आरोहण कार्यक्रममार्फत नेपाली समुदायबीच राष्ट्रिय एकता, पहिचान र पर्यटन प्रवर्द्धनको सन्देश थप मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममार्फत नेपालका हिमाल, धार्मिक सम्पदा, जैविक विविधता, प्राकृतिक सौन्दर्य तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा समेत महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ। विशेषगरी सगरमाथासहित नेपालका अग्ला हिमाल तथा साहसिक पर्यटनका सम्भावनालाई विश्व पर्यटन बजारमा थप प्रभावकारी रूपमा चिनाउने लक्ष्य कार्यक्रमले लिएको जनाएको छ।
उक्त कार्यक्रममा दक्षिण कोरियामा रहेका नेपाली समुदाय, विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा युवाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। सहभागीहरूले “Buddha Was Born in Nepal” लेखिएका ब्यानर तथा सन्देशसहित नेपालको राष्ट्रिय पहिचान र पर्यटन प्रवर्द्धनको अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने तयारी गरिएको छ।
एनआरएनए दक्षिण कोरियाले कार्यक्रमलाई सफल बनाउन दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्साहजनक सहभागिताका लागि हार्दिक अनुरोध गरेको छ।
थप जानकारीका लागि:
बिपिन कुमार गुरुङ : 010-8127-2730
जित कुँवर : 010-2063-1802
टार्जन बान्तवा राई : 010-2693-6511