नेपाली चलचित्र क्षेत्रमा एक्सन स्टारको रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल विराज भट्ट अभिनित बहुप्रतिक्षित नेपाली चलचित्र राम नाम सत्य अब दक्षिण कोरियाका विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको छ। नेपालमा नयाँ वर्ष २०८३ को अवसर पारेर चैत २७ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले रिलिजसँगै दर्शकमाझ उच्च चर्चा बटुल्दै बक्स अफिसमा समेत उत्साहजनक व्यापार गरिरहेको अवस्थामा अब कोरियामा रहेका नेपाली दर्शकहरूले पनि ठूलो पर्दामै चलचित्र हेर्ने अवसर पाउने भएका हुन्।
निर्देशक माइकल चन्दको निर्देशनमा निर्माण भएको यो चलचित्र एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको दमदार कथावस्तुमा आधारित रहेको बताइएको छ। सार्वजनिक टिजर तथा पोस्टरहरूले नै चलचित्रप्रति दर्शकमा उच्च उत्सुकता सिर्जना गरिसकेको छ भने विशेषगरी विराज भट्टको शक्तिशाली एक्सन अवतारले दर्शकलाई निकै आकर्षित गरिरहेको छ। नेपाली चलचित्र क्षेत्रमा लामो समयपछि पुनः आक्रामक शैलीमा प्रस्तुत भएका विराज भट्टलाई यस चलचित्रले नयाँ उचाइ दिएको चर्चा नेपाली चलचित्र वृत्तमा भइरहेको छ।
चलचित्रमा विराज भट्टसँगै सुशील श्रेष्ठ, दिव्य रायमाझी, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट तथा सुनिल थापा जस्ता चर्चित तथा प्रभावशाली कलाकारहरूको अभिनय रहेको छ। चलचित्रमा कलाकारहरूको बलियो लाइनअप, उच्चस्तरीय एक्सन प्रस्तुति र भावनात्मक कथावस्तुको संयोजनले दर्शकलाई फरक स्वाद दिने निर्माण टिमको दाबी रहेको छ।
विशेषगरी दक्षिण कोरियामा रहेका नेपाली चलचित्रप्रेमी दर्शकमाझ विराज भट्टको लोकप्रियता पहिलेदेखि नै उल्लेखनीय रहेकाले पनि चलचित्र प्रदर्शनलाई लिएर यहाँ उत्साह थपिएको देखिन्छ। नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय नेपाली समुदायसम्म पुर्याउने उद्देश्यसहित प्रदर्शन तयारी भइरहेको बताइएको छ।
दक्षिण कोरियामा चलचित्र राम नाम सत्य प्रदर्शनका लागि आधिकारिक राइट महेश भट्ट, हेमलता शर्मा र बसन्त रिजालले प्राप्त गरेका छन्।