
दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” आयोजना हुने भएको छ। पूर्वी नेपाल समाज दक्षिण कोरियाको आयोजनामा, सुवन नेपाली समाजको विशेष सहयोग तथा पूर्वी नेपाल समाजअन्तर्गतका विभिन्न संस्थाहरूको सह-आयोजनामा उक्त भव्य कार्यक्रम आगामी मे २ तारिख सुवनमा सम्पन्न हुने आयोजकले जनाएको छ।
प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, संस्कृति र पहिचानलाई अझ मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा चर्चित गायक तथा कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। कार्यक्रममा मन्दिरा नेम्बाङ, सुनिल गुरुङ, प्रदीप राई, मनोज चाम्लिङ, जितेन्द्र सुनुवार, रबिन रेग्मी, भूपेन लिम्बु र सुजन कार्की लगायतका लोकप्रिय कलाकारहरूले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।
त्यस्तै, नृत्यतर्फ प्रिन्स चौहान, आयुष उप्रेती, दिया खड्का र गोपिका नेपाल ले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। साथै, चर्चित सङ्गीत संयोजक नविन को विशेष प्रस्तुति पनि कार्यक्रमको अर्को मुख्य आकर्षण रहने जनाइएको छ।
“हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता, प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम साँझ ७ बजेबाट सुरु भई बिहान ५ बजेसम्म सञ्चालन हुनेछ।
नेपाली कला, संगीत र संस्कृतिलाई प्रवासमा समेत जगेर्ना गर्दै नेपाली समुदायबीच भाइचारा, सद्भाव र आत्मीयता अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।
आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई नयाँ वर्षको उत्सवलाई भव्य, सभ्य र ऐतिहासिक बनाउन हार्दिक अनुरोध गरेका छन्।