नेपाली २० वर्षीय युवा खेलाडी श्रीजन घिमिरे, जसको जरा नेपाल र थाइल्यान्ड दुवै देशसँग जोडिएको छ, अमेरिकाको नर्थ क्यारोलिनामा आयोजना हुन गइरहेको बहुप्रतिक्षित 'बिस्ट गेम्स सिजन ३' (Beast Games Season 3) मा प्रतिस्पर्धा गर्ने तयारीसँगै चर्चाको शिखरमा छन्। यस प्रतियोगिताका विजेताले ५० लाख अमेरिकी डलरको विशाल पुरस्कार हात पार्नेछन्।
नेपालमा जन्मिएर हुर्किएका श्रीजनको नेपाली र थाई संस्कृति दुवैसँग गहिरो लगाव छ। अहिले अन्तर्राष्ट्रिय मञ्चमा गर्वका साथ थाइल्यान्डको प्रतिनिधित्व गरिरहेका उनी शक्ति, सहनशीलता र सांस्कृतिक गौरवको एक उत्कृष्ट संगम हुन्।
"हामी जहाँ गए पनि आफ्नो बहादुरी, शक्ति, र नेपाल तथा थाइल्यान्ड दुवैको संस्कृति साथमै बोकेर हिँड्छौं," श्रीजनले भने।
६ फिट ३ इन्च अग्ला र ९५ किलोग्राम तौल भएका श्रीजन आफ्नो डिभिजनका सबैभन्दा कान्छा हेवीवेट व्यावसायिक मुआथाई (Muay Thai) लडाकुमध्ये एक मानिन्छन्। कलिलो उमेरमै उनले राष्ट्रिय स्तरको सफलता हासिल गरिसकेका छन् र आफ्नो उमेर समूहमा च्याम्पियनको रूपमा ख्याति कमाएका छन्।
'आर्ट अफ एइट लिम्ब्स' (Art of Eight Limbs) भनेर चिनिने मुआथाई श्रीजनका लागि एउटा खेल मात्र नभएर जीवन जिउने कला हो।
"मुआथाई हाम्रो खेल मात्र होइन। यो हाम्रो संस्कृति र पहिचान हो," उनले भने, "मेरो लक्ष्य विश्व च्याम्पियन बन्ने र हाम्रो झण्डालाई विश्वको कुना-कुनामा पुर्याउने हो।"
नेपाली बाबु र थाई आमाबाट जन्मिएका उनी आफ्नो उत्कृष्ट खेलाडी बन्ने सपनालाई साकार पार्न परिवार सहित थाइलैन्डमा बसेर मुआथाई सिकिरहेका छन् र दुबै देशको दुतको रुपमा दुबै देशलाई बिश्वसामु चिनाउन लागिपरेका छन्। उनको खेल यात्राले दुई देशको सस्कृति र समबन्धलाई जोड्ने सेतुको काम गरेका छन् ।उनले थाइल्यान्डको न्यानोपन र शालीन मुस्कानको साथमा नेपालको सगरमाथाले प्रतिविम्बित गर्ने अदम्य सहनशीलता र साहसलाई बिश्वसामु चिनाउन उल्लेखनिय भुमिका खेल्दै यी दुवै गुणहरूको समिश्रणबाट आफ्नो लडाकु भावना र दृढ संकल्पलाई आकार दिएका छन्।
अब 'बिस्ट गेम्स सिजन ३' मा पाइला राख्दै गर्दा श्रीजनले आफ्नो जीवनकै सबैभन्दा ठूलो चुनौतीको सामना गर्दैछन्। अत्यधिक शारीरिक र मानसिक परीक्षणका लागि विश्वभर चिनिने यस प्रतियोगितामा शारीरिक शक्ति मात्र नभई धैर्यता, रणनीति र मानसिक दृढताको पनि कडा परीक्षा हुनेछ।
आफ्नो तयारीबारे बोल्दै उनले दृढता व्यक्त गर्दै "म अनुशासित छु र मलाई कसैले तोड्न सक्दैन। म तयार छु किनकि म नेपालीको छोरो हु ” भनेका छन् ।
प्रतियोगिताका उत्कृष्ट युवा प्रतिस्पर्धीमध्ये एकको रूपमा उभिएका श्रीजनले विश्वव्यापी मञ्चमा नेपाल र थाइल्यान्डको गौरव बढाउन सम्पूर्ण दर्शक तथा शुभचिन्तकहरूसँग भोट र समर्थनको अपील गरेका छन्।
समर्थकहरूले श्रीजनलाई तलको लिंकमार्फत भोट गर्न सक्नेछन्:
https://beastgames.votenow.tv/shreejan
