गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए दक्षिण कोरिया) का पूर्व तथा वर्तमान अध्यक्षहरूबीच एक महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ। सन् २००६ मे १५ मा स्थापना भएको संस्थाका हालसम्मका निवर्तमान (गंगा राई बाहेक) तथा वर्तमान अध्यक्षहरूको सहभागितामा छोटो, तर अर्थपूर्ण र स्मरणीय बैठक सम्पन्न भएको हो।
सन् २०२० देखि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) मा देखिएको आन्तरिक विवादको प्रभाव कोरियास्थित एनआरएनएमा समेत परेको सर्वविदित छ। पछिल्लो समय उक्त विवादका कारण संस्थाभित्र असमझदारी र विभाजनको अवस्था देखिँदै आएको थियो।
तर, गत मार्च महिनाबाट सर्वसम्मत रूपमा नयाँ केन्द्रीय समिति गठन भइसकेपछि अब संस्थालाई एकताबद्ध बनाउँदै अगाडि बढ्ने वातावरण बनेको सहभागीहरूले बताएका छन्। उनीहरूले एनआरएनए कोरियाले पनि अब स्पष्ट रूपमा एकताको सन्देश दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
बैठकमा सहभागीहरूले विगतका कमजोरीबाट सिक्दै भविष्यमा यस्ता त्रुटिहरू दोहोरिन नदिने, नयाँ पुस्तालाई संस्थाप्रति आकर्षित गर्ने तथा आपसी समझदारी, संवाद र सहकार्यलाई मजबुत बनाउने विषयमा प्रतिबद्धता जनाएका छन्। साथै, नियमित भेटघाट र छलफललाई निरन्तरता दिने सहमति समेत भएको जनाइएको छ।
छोटो समयको बाबजुद उपस्थित भई आफ्नो अमूल्य समय प्रदान गर्ने सम्पूर्ण सहभागीहरूप्रति आभार व्यक्त गरिएको छ। साथै, बैठकको संयोजनका लागि निवर्तमान (आईसीसी) अध्यक्ष बिनोद कुँवरलाई विशेष धन्यवाद दिइएको छ।
यस भेटघाटलाई संस्थापक अध्यक्ष केपी सिटौलाले नै सार्वजनिक गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी साझा गरेका थिए।
सिटौलाको उक्त फेसबुक स्टाटसमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले विगतमा भएका कमजोरीप्रति चिन्ता र आक्रोश व्यक्त गरेका छन् भने केहीले एनआरएनए कोरियाअन्तर्गत रहेको ‘नेपाल हाउस’ को अस्तित्व नै संकटमा परेको भन्दै गम्भीर चासो व्यक्त गरेका छन्