गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) की सह-कोषाध्यक्ष गंगा खतिवडालाई दक्षिण कोरियामा भव्य रूपमा सम्मान गरिएको छ। गत आइतबार, अप्रिल १९ तारिखका दिन सौलस्थित एनआरएनए दक्षिण कोरियाको हेल्प डेस्क कार्यालयमा आयोजित विशेष कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो।
कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङले खतिवडालाई स्वागत तथा सम्मान व्यक्त गर्नुभयो। उक्त अवसरमा पूर्व आईसीसी अध्यक्ष विनोद कुँवरको समेत विशेष उपस्थिति रहेको थियो।
त्यसैगरी, बरिष्ठ उपाध्यक्ष जित कुँवर, महासचिव नरेश शर्मा, सचिव टार्जन वान्त्वा राई, कोषाध्यक्ष यज्ञमान नायक, सह-कोषाध्यक्ष सुस्मा तामाङ लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
भेटघाटका क्रममा सहभागीहरूबीच दक्षिण कोरियामा रहेको एनआरएनए समुदायको एकता, सहकार्य तथा संस्थागत सुदृढीकरणका विषयमा गम्भीर छलफल भएको जनाइएको छ। सो अवसरमा सह-कोषाध्यक्ष खतिवडाले संगठनलाई अझ प्रभावकारी र मजबुत बनाउन सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिनुभयो।
कार्यक्रमले प्रवासी नेपालीबीच आपसी समन्वय, सहकार्य र संस्थागत विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरिएको छ।