दक्षिण कोरियामा गैर आवासीय नेपाली समुदायबीच एकता, सहकार्य र संस्थागत मजबुतीका लागि महत्वपूर्ण पहल अघि बढाइएको छ। गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) की उपाध्यक्ष जुनु गुरुङ र सह-कोषाध्यक्ष गंगा खतिवडालाई एनआरएनए कोरियाका अध्यक्ष विपिन कुमार गुरुङद्वारा राजधानी "सौल"मा विशेष स्वागत तथा सम्मान गरिएको छ।
उक्त अवसरमा आयोजित कार्यक्रममा एनआरएनए आईसीसीका पदाधिकारीहरू, पूर्व आईसीसी अध्यक्ष विनोद कुँवरबीच गहन छलफल भएको थियो। छलफलका क्रममा कोरियामा एनआरएनएको वर्तमान अवस्था, संगठनभित्रको एकता, पारदर्शिता र प्रभावकारी सहकार्यलाई कसरी अझ सुदृढ बनाउने भन्ने विषयमा गम्भीर विमर्श गरिएको सहभागीहरूले जनाएका छन्।
कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले प्रवासमा रहेका नेपालीबीचको एकता नै संगठनको प्रमुख शक्ति भएको उल्लेख गर्दै त्यसलाई अझ मजबुत बनाउन आफूहरू सदैव प्रतिबद्ध रहेको बताउनुभयो। सह-कोषाध्यक्ष खतिवडाले पनि संस्थागत विकास र आर्थिक पारदर्शितालाई प्राथमिकतामा राख्दै आगामी दिनमा समन्वय र सहकार्यलाई तीव्रता दिने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, अध्यक्ष विपिन कुमार गुरुङले कोरियामा एनआरएनएको गरिमा र प्रभावलाई उच्च बनाउँदै सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। पूर्व आईसीसी अध्यक्ष विनोद कुँवरले पनि विगतका अनुभवलाई आत्मसात गर्दै संगठनलाई एकताबद्ध ढंगले अगाडि बढाउन सबैलाई एकजुट हुन आग्रह गर्नुभयो।
कार्यक्रमको निष्कर्षस्वरूप सहभागीहरूबीच एनआरएनए कोरियामा आपसी समझदारी, सहकार्य र संस्थागत एकतालाई थप मजबुत बनाउने दिशामा सक्रिय पहल गर्ने र पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको छ।