आपसी सद्भाव, सहयोग र सदाचारलाई मूल मन्त्र बनाउँदै सन् २०१४ मा स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। आइतबार सोलको दोङ्देमुनस्थित नेपाली थाई रेस्टुरेन्टको सभाहलमा आयोजित उक्त अधिवेशनले प्रवासमा रहेका सिन्धुपाल्चोकबासीबीचको एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
अधिवेशनले सर्वसम्मत रूपमा उद्धव नेपाल खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सोनाम शेर्पाले पाएका छन् भने उपाध्यक्षद्वयका रूपमा वसन्त थापा र सन्तोष लुइँटेल चयन भएका छन्। त्यस्तै महासचिवमा भुवन दाहाल, कोषाध्यक्षमा सुरज श्रेष्ठ र सह-कोषाध्यक्षमा गणेश श्रेष्ठ चयन भएका छन्।
यसैगरी सदस्यहरूमा सन्तोष आचार्य, अविनाश तिमल्सिना, स्याङ्बो शेर्पा, राजेश पराजुली, कुमारी तामाङ, आरजु खनाल, रुजन ढकाल, प्रज्वल तामाङ र रवी खड्का चयन भएका छन्।
अधिवेशनले नयाँ नेतृत्वमार्फत समाजलाई अझ सक्रिय, प्रभावकारी र परिणाममुखी बनाउँदै प्रवासमा रहेका सिन्धुपाल्चोकबासीहरूको हकहित संरक्षण, सामाजिक एकता अभिवृद्धि तथा सांस्कृतिक पहिचान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
साथै, नयाँ कार्यसमितिले आपसी सहकार्य, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा संस्थागत विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।