दक्षिण कोरियामा मोक्पो क्षेत्रमा क्रियाशील नेपाली समुदायको साझा संस्था मोक्पो साम्हो साझा चौतारीको ८औं अधिवेशन आइतबार, १९ अप्रिल २०२६ का दिन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा बिक्रम गिरिको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
अधिवेशनमा संस्थाका अग्रज, सदस्यहरू, विभिन्न सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले विगत कार्यकालको समीक्षा गर्दै आगामी दिनमा संस्थालाई अझ प्रभावकारी, संगठित र सशक्त बनाउने स्पष्ट दिशानिर्देश तय गरेको छ।
नव-निर्वाचित अध्यक्ष बिक्रम गिरिले अधिवेशनपछि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई पारदर्शिता, इमान्दारिता र उत्तरदायित्वका आधारमा अगाडि बढाउने उल्लेख गरे। उनले सम्पूर्ण सदस्य, कार्यसमिति र समुदायसँग सहकार्य गर्दै संस्थाको गरिमा उकास्ने, एकता मजबुत बनाउने र नयाँ योजनामार्फत सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको बताए।
अधिवेशन सफल बनाउन खटिएका आयोजक टिम, स्वयंसेवक तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैप्रति विशेष आभार व्यक्त गरिएको थियो। सहभागीहरूले नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै संस्थालाई आगामी दिनमा अझ सशक्त र प्रभावकारी बनाउने अपेक्षा राखेका छन्।
प्रवासमा रहेका नेपालीबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक पहिचानको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको चौतारीले नयाँ नेतृत्वसँगै थप ऊर्जाका साथ अगाडि बढ्ने विश्वास लिइएको छ।