दक्षिण कोरियामा सक्रिय नेपालीहरूको साझा संस्था पूर्वी नेपाल समाज दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर एक भव्य तथा बहुप्रतीक्षित साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। प्रारम्भिक रूपमा अप्रिल २५ का लागि तय गरिएको उक्त कार्यक्रम प्राविधिक कारणले एक हप्ता पछि सारिँदै अब आगामी मे २, शनिबार आयोजना हुने निश्चित गरिएको आयोजकले जनाएको छ।
नेपालस्थित कोरियन दूतावासबाट आमन्त्रित कलाकारहरूको राहदानी उपलब्ध गराउन ढिलाइ भएका कारण कार्यक्रम सार्नुपरेको जनाइएको छ। तथापि, यसले कार्यक्रमप्रति दर्शकको उत्साह अझ बढाएको आयोजकको विश्वास छ।
नेपाली साङ्गीतिक क्षेत्रमा उदाउँदै गरेका प्रतिभाहरूलाई प्रोत्साहन गर्ने मूल उद्देश्यका साथ आयोजना हुन लागेको यस कार्यक्रममा दक्षिण कोरियामै रहेका नवप्रतिभाशाली कलाकारहरूको प्रस्तुति रहनेछ भने नेपालबाट समेत तीन जना विशेष कलाकारलाई आमन्त्रण गरिएको छ। कार्यक्रमले प्रवासमा नेपाली कला र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सन् २०१५ मा स्थापना भएको पूर्वी नेपाल समाज दक्षिण कोरियाले नेपालको प्रादेशिक संरचना अनुसार प्रदेश नं. १ (कोशी प्रदेश) का नेपालीहरूको प्रतिनिधित्व गर्दै आएको छ। स्थापना कालदेखि नै विभिन्न विपद्मा परेका नेपालीहरूको उद्धार, सामाजिक सहयोग, साथै नेपाली कला-संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय रहँदै आएको संस्थाले जनाएको छ। प्रस्तुत साङ्गीतिक कार्यक्रम पनि सोही अभियानको निरन्तरता भएको उल्लेख गरिएको छ।
कार्यक्रमको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ। नेपालबाट आमन्त्रित कलाकारहरूको भिसा प्रक्रिया टुङ्गो लाग्ने बित्तिकै विस्तृत जानकारीसहित पत्रकार सम्मेलन आयोजना गरिने संस्थाका अध्यक्ष केदार निरौलाले जानकारी दिनुभएको छ।
उक्त बहुप्रतीक्षित कार्यक्रम स्टेशन (छङन्याङ्नी स्टेशन) को गेट नम्बर २ बाट करिब ५० मिटर अगाडि अवस्थित स्थानमा बेलुकी ठीक ७:०० बजेदेखि सुरु हुने बताइएको छ।
कार्यक्रमलाई सफल बनाउन आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समयमै उपस्थित भई सहभागिता जनाउन हार्दिक निमन्त्रणा समेत दिएको छ।