दक्षिण कोरियाको प्रख्यात सहर सुवनस्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा सुदूरपश्चिम समाज, दक्षिण कोरियाद्वारा आयोजित ‘सुदूरपश्चिमको मौलिक चाड विसु तथा नेपाली नयाँ वर्ष २०८३’ को अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
अप्रिल १२ आइतबार आयोजित उक्त कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको सशक्त झल्को प्रस्तुत गरिएको थियो। विशेषगरी सुदूरपश्चिमको पहिचान बोकेको देउडा नृत्य तथा गीतले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो भने स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति र परम्परागत नेपाली खानाका परिकारहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित लोक तथा देउडा गायक गौरी भट्ट र कमल बिरही थापाको विशेष प्रस्तुति रहेको थियो। उनीहरूको दमदार प्रस्तुति र सांगीतिक ऊर्जा दर्शकहरूका लागि अविस्मरणीय बनेको थियो।
उक्त कार्यक्रममा विभिन्न संघसंस्था, समाजसेवी, पत्रकार तथा बुद्धिजीवीहरूको उल्लेखनीय साथै उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ। सहभागीहरूले सुदूरपश्चिमको मौलिक संस्कृतिलाई प्रवासमा पनि जोगाइराख्ने प्रयासप्रति प्रशंसा व्यक्त गरेका थिए।
कार्यक्रमले प्रवासमा रहेका नेपालीबीच एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ रहेको छ। साथै, यस्ता कार्यक्रमले नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
समग्रमा, उक्त कार्यक्रमले सुदूरपश्चिमेली समुदायको सांस्कृतिक चेतना र एकताको सन्देश फैलाउँदै प्रवासमा पनि नेपाली मौलिकताको उजागर गर्न सफल भएको छ।





फोटो साभार: अमिर फोटोग्राफी