दक्षिण कोरियामा बसोबास गर्ने विदेशी नागरिकहरूको संख्या २०२६ फेब्रुअरीसम्म आइपुग्दा उल्लेखनीय रूपमा वृद्धि भएको छ। अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार हाल कोरियामा कुल २७,०९९८९ (२.७ मिलियनभन्दा बढी) विदेशी नागरिक विभिन्न भिषा (लामो तथा छोटो अवधि) अन्तर्गत बसोबास गरिरहेका छन्।
यस व्यापक विदेशी समुदायभित्र नेपालीहरूको उपस्थिति भने झनै सशक्त रूपमा उभिएको देखिन्छ। तथ्यांक अनुसार हाल कोरियामा ९४,१९४ नेपाली नागरिक रहेका छन्, जसले विदेशी समुदायमा पाँचौँ स्थान सुरक्षित गरेका छन्।
विशेष कुरा के छ भने सन् २०२२ मा कोरियामा रहेका नेपालीहरूको संख्या करिब ४७,८६५ मात्र थियो। चार वर्षको अवधिमा यो संख्या झण्डै दोब्बर वृद्धि हुँदै ९४ हजार नाघ्नुले नेपाली समुदायको विस्तार, रोजगारीको अवसर तथा कोरियाप्रतिको आकर्षणलाई स्पष्ट संकेत गर्दछ।
कोरियामा रहेका विदेशीहरूमध्ये भियतनाम, चीन, अमेरिका लगायतका देशका नागरिकहरूको ठूलो संख्या भए पनि नेपालले शीर्ष पाँचभित्र आफ्नो स्थान कायम राख्नु उल्लेखनीय उपलब्धि मानिन्छ। यसले नेपाली कामदार, विद्यार्थी तथा पेशागत जनशक्तिको विश्वसनीयता र मागलाई पनि प्रतिबिम्बित गर्छ।
कोरिया पछिल्लो समय नेपालीहरूका लागि वैदेशिक रोजगारी, उच्च शिक्षा तथा व्यावसायिक अवसरको महत्वपूर्ण गन्तव्य बनेको छ। विशेषगरी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आउने कामदार, विद्यार्थी भिसामा आउने युवाहरू तथा अन्य पेशागत क्षेत्रमा आवद्ध नेपालीहरूको संख्या निरन्तर बढ्दो क्रममा छ।