दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच सुदूरपश्चिमेली मौलिक संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुदूरपश्चिम समाज, दक्षिण कोरियाले नेपाली नयाँ वर्ष २०८३ साल तथा सुदूरपश्चिमको महत्वपूर्ण पर्व विसु को पावन अवसरमा भव्य शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम आयोजना गर्ने भएको छ।
आगामी अप्रिल १२ (आइतबार) बिहान ठीक ११:०० बजे कोरियाको प्रख्यात सहर सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा आयोजना हुने उक्त कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको झल्को दिने विविध प्रस्तुतिहरू समेटिने आयोजकले जनाएको छ।
कार्यक्रममा विशेषगरी सुदूरपश्चिमको पहिचान बोकेको देउडा नृत्य तथा गीत, स्थानीय कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति तथा परम्परागत स्वादिष्ट परिकारहरूको समेत व्यवस्था गरिनेछ। साथै, कार्यक्रममा चर्चित लोक तथा देउडा गायकहरू गौरी भट्ट र कमल बिरही थापाको विशेष प्रस्तुति रहनेछ, जसले कार्यक्रमलाई अझ रोचक र उल्लासमय बनाउने विश्वास गरिएको छ।
प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कार, परम्परा र सांस्कृतिक पहिचानलाई जगेर्ना गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भई कार्यक्रम सफल पार्न आयोजकले हार्दिक अनुरोध गरेको छ।
कार्यक्रममा विभिन्न संघसंस्था, समाजसेवी, पत्रकार तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। साथै, यसले प्रवासी भूमिमा नेपालीपनको झल्को दिनुका साथै सुदूरपश्चिमेली समुदायबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।