दक्षिण कोरियामा रहेका नेपाली समुदायका लागि अत्यन्तै उपयोगी तथा अवसरमूलक सेवा प्रदान गर्ने उद्देश्यका साथ एक विशेष कार्यक्रम आयोजना हुने भएको छ। राजधानी सौलस्थित दुङ्देमुन क्षेत्रमा आगामी मार्च २९ तारिख आइतबारका दिन बैंकिङ तथा वित्तीय सेवा सम्बन्धी विशेष सुविधा उपलब्ध गराइने भएको हो।
दुङ्देमुन सहरको सेमाउल बैंक भवनको पाँचौँ तलामा सञ्चालन हुने यस कार्यक्रममार्फत दक्षिण कोरियाको प्रतिष्ठित सिन्हान बैंकका सम्पूर्ण सेवा सुविधाहरू एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सकिनेछ। सोही स्थानमा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाद्वारा २०औँ स्थापना दिवसको अवसरमा आयोजना गरिने पत्रकार प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन हुने भएकाले सहभागीहरूलाई दोहोरो लाभ मिल्ने विश्वास गरिएको छ।
कार्यक्रममा सहभागी हुने सेवाग्राहीहरूले बैंकिङ सेवाअन्तर्गत नयाँ खाता खोल्ने, वार्षिक करिब ८ देखि ९ प्रतिशत ब्याजदरमा पाँच करोड वनसम्मको ऋण सेवा सम्बन्धी परामर्श, ऋण प्रक्रिया, नयाँ खाता खोल्ने, अनलाइन मोबाइल बैंकिङ ,क्रेडिट कार्ड लगायतका विभिन्न किसिमका बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन्। यसले विशेषगरी श्रमिक, विद्यार्थी तथा विभिन्न भिसामा कोरियामा कार्यरत नेपालीहरूलाई बैंकिङ सेवा तथा प्रक्रिया सम्बन्धी महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सेवा तथा परामर्श प्रदान गर्नका लागि हेमलता शर्माको विशेष उपस्थिति रहनेछ। उनी सौलस्थित सिन्हान बैंकको केन्द्रीय कार्यालयमा कार्यरत नेपाली प्रतिनिधि तथा सहायक म्यानेजरका रूपमा कार्यरत रहँदै आएकी छन्। उनको प्रत्यक्ष सहजकरणले सहभागीहरूलाई बैंकिङ प्रक्रियाबारे स्पष्ट जानकारी प्राप्त गर्न सहज हुने आयोजकले जनाएको छ।
उक्त कार्यक्रमले एकै स्थानमा बैंकिङ सेवा, परामर्श तथा सीपमूलक प्रशिक्षणलाई जोड्दै नेपाली समुदायका लागि उपयोगी अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।