दक्षिण कोरियामा क्रियाशील नेपाली समुदायको अग्रणी तथा सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसीसी) ले आफ्नो १९औँ अधिवेशनपछि नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्दै आइतबार राजधानी सौलमा एक भव्य समारोहबीच सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ।
सन् १९९३ मा स्थापना भई प्रवासमा नेपालीहरूको एकता, पहिचान र सांस्कृतिक सम्वर्द्धनमा निरन्तर सक्रिय रहँदै आएको यस संस्थाले फेरि एकपटक नयाँ ऊर्जासहित अगाडि बढ्ने संकेत दिएको छ। अधिवेशनबाट चयन गरिएको नेतृत्वलाई आज औपचारिक रूपमा घोषणा गर्दै पद तथा गोपनीयताको सपथ दिलाइएको हो, जसलाई दक्षिण कोरियास्थित नेपाली समुदायले विशेष महत्वका साथ लिएको देखिएको छ।
कार्यक्रम सौलको दोङ्देमुन क्षेत्रमा अवस्थित नेपाली थाइ रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो, जहाँ विभिन्न संघ-संस्थाका प्रतिनिधि, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सर्वसाधारण नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समारोहले केवल नेतृत्व हस्तान्तरण मात्र नभई आगामी कार्यदिशा, प्राथमिकता र संस्थागत प्रतिबद्धताको सशक्त सन्देश समेत दिएको सहभागीहरूको भनाइ छ।
नयाँ नेतृत्वमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै हर्क बिष्ट अध्यक्षमा निर्वाचित भएका छन्। उहाँको नेतृत्वमा गठन भएको कार्यसमितिमा विविध भूगोल र समुदायको समावेशी प्रतिनिधित्व देखिएको छ, जसले संस्थालाई अझ व्यापक र सशक्त बनाउने अपेक्षा गरिएको छ। बरिष्ठ उपाध्यक्षमा लुम्बिनीका नारायण न्यौपाने, महिला उपाध्यक्षमा हेमलता शर्मा तथा उपाध्यक्षहरूमा गण्डकीका नारायण पौडेल र कर्णालीका डेनराज सिजापति चयन भएका छन्।
त्यसैगरी महासचिवमा बाग्मतीका सुमन चौलागाईं, सचिवहरूमा पदम राई र भगवान तिवारी तथा कोषाध्यक्षमा झलक बिष्ट चयन भएका छन् भने सह–कोषाध्यक्षको जिम्मेवारी सेकेन्द्र गुरुङले सम्हाल्ने भएका छन्। कार्यसमितिमा विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्दै रुद्र पौडेल, ध्रुव आचार्य, केशब श्रेष्ठ, मेघा रेउले, खगेन्द्र गौतम, साकेन्द्र चनारा, निरोज तामाङ र महेन्द्र हाङसारुम्बा सदस्यका रूपमा चयन भएका छन्।