दक्षिण कोरियामा बसोबास गर्ने विदेशी नागरिकहरूका लागि वित्तीय पहुँच विस्तार गर्ने दिशामा सिन्हान बैंकले पुनः एक महत्त्वपूर्ण कदम अघि सारेको छ। केही समयअघि सुरु गरिएको कम-ब्याजदरको विशेष ऋण सेवा प्रभावकारी बन्दै गइरहेका बेला बैंकले यस योजनालाई अझै आकर्षक र सहज बनाउँदै नयाँ परिमार्जन सार्वजनिक गरेको हो।
आगामी अप्रिल १ देखि लागू हुने नयाँ व्यवस्थाअनुसार विदेशी नागरिकहरूले अब अधिकतम ५० मिलियन वन (करिब ५० लाख नेपाली रुपैयाँ) सम्म ऋण लिन सक्नेछन्, जुन यसअघि तोकिएको २० मिलियन वनको सीमाभन्दा दोब्बरभन्दा बढी हो। यससँगै ब्याजदरमा समेत उल्लेख्य कटौती गरिएको छ। पहिले अधिकतम ११ प्रतिशतसम्म रहेको ब्याजदर अब घटाएर ८ देखि ९ प्रतिशतको दायरामा कायम गरिनेछ।
यो परिवर्तनले विशेषगरी कोरियामा श्रम, पेशागत तथा स्थायी आवासीय भिसामा कार्यरत विदेशीहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ। E-9, E-7, F-2 र F-5 भिसाधारीहरू यस योजनाका मुख्य लाभग्राही रहनेछन्।
अझ विशेष कुरा के भने, अन्य बैंक वा वित्तीय संस्थाबाट ऋण लिइसकेका र अझै भुक्तानी प्रक्रिया चलिरहेकाहरूले पनि अब यस योजनाअन्तर्गत सहज रूपमा नयाँ ऋण लिन सक्नेछन्। बैंकिङ पहुँचलाई समावेशी बनाउने उद्देश्यसहित सिन्हान बैंकले विदेशी नागरिकहरूको वास्तविक आवश्यकतालाई केन्द्रमा राख्दै सेवा विस्तार गर्दै आएको छ।
विगतदेखि नै विदेशी समुदाय, विशेषगरी नेपाली श्रमिक तथा पेशेवरहरूसँग नजिकबाट काम गर्दै आएको सिन्हान बैंकले नयाँ ऋण योजनामार्फत आर्थिक सुरक्षा, सहजता र आत्मनिर्भरतालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।
यस सेवासम्बन्धी थप जानकारी, योग्यता मूल्याङ्कन तथा आवेदन प्रक्रियाका लागि बैंकको केन्द्रीय कार्यालयमा कार्यरत नेपाली प्रतिनिधि तथा सहायक म्यानेजर हेमलता शर्मासँग प्रत्यक्ष सम्पर्क गर्न सकिने व्यवस्था रहेको छ।
सम्पर्क: 010-8857-5857