दक्षिण कोरियामा क्रियाशील नेपाली समुदायको साझा संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरिया को आगामी कार्यकालका लागि वर्तमान उपाध्यक्ष मनोज कुमार सुवेदीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ। लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका सुवेदीले “समावेशी नेतृत्व, सशक्त समुदाय” भन्ने मूल नाराका साथ आफ्नो विस्तृत योजना पत्र सार्वजनिक गर्दै कोरियास्थित नेपाली समुदायको एकता, अधिकार र समृद्धिलाई केन्द्रमा राखेर नेतृत्व गर्न चाहेको स्पष्ट पार्नुभएको छ।
करिब दुई दशकदेखि नेपालमा सामाजिक–राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका र एक दशकभन्दा बढी समयदेखि दक्षिण कोरियामा नेपाली समुदायका विभिन्न सामाजिक गतिविधिमा सक्रिय रूपमा भूमिका निभाउँदै आएका सुवेदीको उम्मेदवारीलाई यसपटक विशेष चासोका साथ हेरिएको छ। सन् १९९३ मा स्थापना भएको एनसीसीको इतिहासमा लामो समयदेखि मध्य क्षेत्र अर्थात् बागमती प्रदेशबाट नेतृत्व नआएको अवस्थालाई उल्लेख गर्दै सुवेदीले आफूले त्यस क्षेत्रको प्रतिनिधित्व गर्ने अवसर पाउनुपर्ने तर्क पनि प्रस्तुत गर्नुभएको छ। आमा किराती समुदाय र बाबा खस–आर्य समुदायबाट भएकाले आफूलाई बहु–समुदायको साझा प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै उनले कुनै एक जाति वा क्षेत्रको मात्र प्रतिनिधित्व नगरी सम्पूर्ण नेपाली समुदायलाई समान दृष्टिले हेर्ने प्रतिबद्धता जनाउनुभएको छ।
सुवेदीले आफ्नो योजना पत्रमा कोरियामा बसोबास गर्ने नेपालीहरूको सांस्कृतिक एकतालाई विशेष महत्व दिएका छन्। कोरियामा विभिन्न जातीय तथा क्षेत्रीय पर्वहरू भव्यताका साथ मनाइँदै आए पनि नेपालीहरूको साझा पर्व दशैं र तिहार क्रमशः ओझेलमा पर्दै गएको महसुस गर्दै उनले यी पर्वहरूलाई एनसीसी, एनआरएनए र अन्य क्षेत्रीय संस्थाहरूसँग सहकार्य गरी अझ व्यापक र भव्य रूपमा मनाउने योजना अघि सारेका छन्। यसका साथै ल्होसार, ईद, क्रिसमस जस्ता विभिन्न समुदायका पर्वहरूमा पनि सम्बन्धित समुदायसँग सहकार्य गर्दै नेपाली समाजबीच पारस्परिक सम्मान र सद्भाव बढाउने लक्ष्य रहेको उनले उल्लेख गर्नुभएको छ।
सुवेदीले कोरियाली सरकार र सम्बन्धित प्रशासनिक निकायसँग समन्वय गर्दै नेपाली श्रमिकहरूको कानुनी अधिकार, श्रम सुरक्षा र सामाजिक सुरक्षाका विषयमा प्रभावकारी कूटनीतिक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ। पछिल्लो समय कोरियामा नेपालीहरूबीच बढ्दो मानसिक तनाव, डिप्रेसन तथा आत्महत्या जस्ता समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न आवश्यक रहेको भन्दै उनले आध्यात्मिक गुरु, मोटिभेसनल स्पिकर तथा मनोपरामर्शदातासँग सहकार्य गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गर्नुभएको छ।
खेलकुद तथा कला–साहित्यको विकासलाई पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन्। फुटबल, भलिबल लगायतका खेलमार्फत नेपाल र कोरियाका क्लबहरूबीच मैत्रीपूर्ण प्रतियोगिता आयोजना गर्ने तथा नेपाली कलाकार, साहित्यकार र सांस्कृतिक स्रष्टाहरूलाई प्रवासमै प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन्। विद्यार्थी र उद्यमशील युवाहरूलाई लक्षित गर्दै करियर काउन्सिलिङ कार्यक्रम सञ्चालन गर्ने, व्यवसाय गर्न चाहने नेपालीहरूलाई स्टार्टअप मार्गदर्शन दिने र बैंकिङ सेवामा पहुँच सहज बनाउने प्रयास पनि आफ्नो योजनाको महत्वपूर्ण हिस्सा रहेको सुवेदीले स्पष्ट पार्नुभएको छ।
दीर्घकालीन योजनाका रूपमा उनले कोरियामा नेपाली भाषा, संस्कृति र इतिहासको संरक्षण तथा प्रवर्द्धनका लागि स्थायी ‘नेपाली सांस्कृतिक केन्द्र’ स्थापना गर्ने लक्ष्य अघि सारेका छन्। यसले कोरियामा बसोबास गर्ने नयाँ पुस्ताका नेपालीहरूलाई आफ्नो भाषा र संस्कृतिसँग जोडिराख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेका छन्।
आफूलाई केवल राजनीतिक व्यक्तित्वका रूपमा मात्र नभई मजदुर, किसान, व्यवसायी तथा कला–संस्कृतिप्रेमी नेपालीहरूको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै सुवेदीले आफ्नो जीवन अनुभवले प्रत्येक नेपालीको दुःख–सुख नजिकबाट बुझ्ने अवसर दिएको बताएका छन्। संघर्ष, श्रम र व्यवसायसम्मको यात्राले आफूलाई समुदायको वास्तविक समस्यासँग परिचित गराएको उल्लेख गर्दै उनले “वैश्विक प्रेम (Global Love)” को भावनाका साथ समाजसेवामा समर्पित रहने प्रतिबद्धता दोहोर्याएका छन्।
हाल एनसीसी दक्षिण कोरियाको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका सुवेदीले आफ्नो सम्पर्क नम्बर सार्वजनिक गर्दै कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग, सुझाव र सद्भावका लागि हार्दिक अपिल समेत गर्नुभएको छ। आगामी अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने तयारी भइरहेका बेला सुवेदीको उम्मेदवारीले कोरियास्थित नेपाली समुदायमा नयाँ बहस र चासो सिर्जना गरेको छ।