दक्षिण कोरियामा क्रियाशील नेपाली समुदायको साझा संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १९औँ अधिवेशन नजिकिँदै जाँदा यहाँको नेपाली समाजमा चुनावी माहोल झन् तातिएको छ। यही आउँदो आइतबार, मार्च १५ मा राजधानी सौलमा आयोजना हुन गइरहेको अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्ने भएकाले नेपाली समुदायको ध्यान अहिले एनसीसीको नेतृत्व चयनतर्फ केन्द्रित भएको देखिन्छ।
यसै सन्दर्भमा एनसीसी दक्षिण कोरियाको अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष हर्क बिष्ट नेपाली समुदाय बीच अत्यन्तै चर्चामा रहनुभएको छ। लामो समयदेखि सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका बिष्ट अध्यक्ष पदका बलिया दाबेदारका रूपमा हेरिन थालेपछि यहाँको नेपाली समुदायमा उहाँको चर्चा अझै व्यापक बन्दै गएको छ।
ईपीएस प्रणालीमार्फत करिब डेढ दशक पहिले दक्षिण कोरिया प्रवेश गर्नुभएका बिष्टले प्रवास बसाइका क्रममा विभिन्न सामाजिक अभियान, सामुदायिक कार्यक्रम र सहयोगात्मक गतिविधिमार्फत नेपाली समुदायबीच आफूलाई जिम्मेवार र सक्रिय सामाजिक व्यक्तित्वका रूपमा स्थापित गर्नुभएको छ। प्रवासी नेपालीहरूको हकहित, सहकार्य र एकतालाई प्राथमिकतामा राखेर निरन्तर सक्रिय रहँदै आउनु उहाँको विशेषता मानिन्छ।
बिष्ट सुदूरपश्चिमेलीहरूको साझा संस्था सुदूरपश्चिम समाज दक्षिण कोरियाका वरिष्ठ सल्लाहकारसमेत हुनुहुन्छ। उक्त संस्थासहित विभिन्न संघ- संस्थामार्फत उहाँले नेपाली समुदायहरूको हित, एकता र सामाजिक सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको सहकर्मीहरू बताउँछन्।
मिलनसार स्वभाव, सहयोगी भावना र समन्वयकारी नेतृत्व शैलीका कारण बिष्ट प्रवासमा रहेका नेपालीहरूबीच लोकप्रिय सामाजिक व्यक्तित्वका रूपमा परिचित रहँदै आउनुभएको छ। विभिन्न सामाजिक अभियान, राहत कार्य तथा सामुदायिक कार्यक्रमहरूमा उहाँको सक्रिय उपस्थितिले यहाँ स्थित प्रवासी नेपालीहरूबीच आपसी सहकार्य र एकताको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुगेको बताइन्छ।
यसैबीच आइतबार सम्पन्न हुन गइरहेको एनसीसी दक्षिण कोरियाको अधिवेशनलाई यहाँका नेपालीहरूले विशेष चासोका साथ हेरिरहेका छन्। अधिवेशनमार्फत चयन हुने नयाँ नेतृत्वले दक्षिण कोरियामा रहेका नेपाली समुदायको एकता, सहकार्य र हितलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। हाल नेपाली समुदायबीच भने अध्यक्ष पदका आकांक्षीमध्ये हर्क बिष्टको नाम विशेष रूपमा चर्चामा रहन थालेको देखिन्छ।
