दक्षिण कोरियामा रहेका नेपाली सञ्चारकर्मी तथा सञ्चारप्रेमीलाई एकै थलोमा जोड्दै प्रवासी पत्रकारिताको सुदृढीकरण साथै क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले एक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी मार्च २९ का दिन दक्षिण कोरियाको राजधानी सौल स्थित दुङ्देमुन क्षेत्रमा रहेको सेमाउल बैंक भवनको पाँचौँ तलामा उक्त कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य प्रमुख अतिथि तथा मुख्य वक्ताका रूपमा सहभागी हुनेछन्। नेपालको पत्रकारिता क्षेत्रका अनुभवी व्यक्तित्व आचार्यले प्रवासमा रहेका नेपाली सञ्चारमाध्यमको अवस्था, चुनौती, सम्भावना तथा बदलिँदो सञ्चार परिवेशबारे आफ्नो विशेष धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रमअन्तर्गत बिहान १० बजेदेखि पत्रकारिता तथा सञ्चारसम्बन्धी प्रशिक्षण सत्र सञ्चालन गरिनेछ भने दिउँसो १ बजेदेखि औपचारिक समारोह सुरु हुनेछ। प्रशिक्षण सत्रमा आधुनिक सञ्चार अभ्यास, सामग्री निर्माण, डिजिटल पत्रकारिता तथा प्रवासी नेपाली समुदायका सरोकारका विषयमा छलफल, अनुभव आदानप्रदान र अन्तरक्रिया हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रशिक्षण सत्रमा सहभागी हुन चाहने व्यक्तिहरूले अनलाइन फाराम भरेर अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। कार्यक्रममा दक्षिण कोरियामा क्रियाशील नेपाली पत्रकार, सञ्चारकर्मी, मिडियामा रुचि राख्ने युवा तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रवासी नेपाली पत्रकारितालाई अझ व्यवस्थित, प्रभावकारी र सशक्त बनाउने लक्ष्यका साथ आयोजना हुन लागेको यस कार्यक्रमले दक्षिण कोरियामा रहेका नेपाली सञ्चारकर्मीबीच सहकार्य, अनुभव आदानप्रदान तथा नयाँ सोचको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकको रहेको छ।