दक्षिण कोरियाको ख्यङ्साङ्नाम्दो क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरूलाई एउटै साझा चौतारीमा उभ्याउँदै ख्यङ्नाम नेपाली समाज दक्षिण कोरिया आफ्नो दोस्रो अधिवेशनको तयारीमा जुटेको छ। प्रवासमा नेपाली पहिचान, एकता र सांस्कृतिक गौरवलाई थप उचाइमा पुर्याउने उद्देश्यसहित समाजले ०८ मार्च २०२६ (आइतबार) मध्यान्ह १:०० बजे चाङवनस्थित ख्यङ्नाम इजुमिन सेन्टरमा अधिवेशन आयोजना गर्ने घोषणा गरेको हो।
“कला, संस्कृति र सम्पदा नेपालको शान, प्रवासमा प्रवर्द्धन साझा अभियान” भन्ने मूल नारालाई आत्मसात गर्दै आयोजना हुन लागेको अधिवेशन केवल औपचारिक नेतृत्व चयनको कार्यक्रम मात्र नभई प्रवासमा नेपाली अस्तित्व, पहिचान र सहकार्यको नयाँ अध्याय सुरु गर्ने ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।
समाजले अधिवेशनमार्फत आगामी कार्यकालका लागि स्पष्ट कार्यदिशा, सुदृढ संगठनात्मक संरचना र प्रभावकारी कार्यक्रमहरू तय गर्ने जनाएको छ। साथै, सर्वसम्मत वा लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरी संस्थालाई थप गतिशील र उत्तरदायी बनाउने तयारी गरिएको छ।
आयोजक समितिले ख्यङ्साङ्नाम्दो क्षेत्रका सम्पूर्ण सदस्य, बुद्धिजीवी, व्यवसायी, विद्यार्थी तथा श्रमिक नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई संस्थागत एकता र सामूहिक प्रतिबद्धताको सन्देश दिन आग्रह गरेको छ।
प्रवासको व्यस्त जीवनबीच पनि नेपाली भाषा, कला, संस्कृति र सामाजिक सहकार्यलाई जोगाइराख्ने अभियानलाई संस्थागत रूपमा बलियो बनाउने यो अधिवेशनलाई समुदायले उत्साहका साथ प्रतीक्षा गरिरहेको छ।
समाजका पदाधिकारीका अनुसार, “यो अधिवेशन केवल नेतृत्व परिवर्तन होइन, ख्यङ्नाम क्षेत्रका नेपालीहरूको साझा भविष्य निर्माण गर्ने मार्गचित्र कोर्ने महत्वपूर्ण क्षण हो।”