दक्षिण कोरियामा क्रियाशील नेपाली समुदायको साझा संगठन नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाले आगामी मार्च १५ गते आयोजना गर्न लागेको १९औँ अधिवेशनलाई भव्य, व्यवस्थित र प्रतिनिधिमूलक बनाउन तयारी तीव्र पारेको छ।
अधिवेशनलाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले संस्थागत संरचनाभन्दा बाहिर रहेका विभिन्न संघ-संस्थाबाट समेत “एक संस्था, एक प्रतिनिधि सदस्य” पठाउन औपचारिक आह्वान गरिएको छ।
समितिले जारी गरेको सूचनाअनुसार प्रतिनिधि सदस्यहरू सामान्य सभा तथा अधिवेशनका महत्वपूर्ण निर्णय प्रक्रियामा सहभागी हुनेछन्। प्रतिनिधि सदस्यले निर्वाचन प्रक्रियामा भाग लिन, उम्मेदवार बन्न र मतदान गर्न पाउने व्यवस्था रहेको छ। प्रत्येक प्रदेश समाजबाट कम्तीमा सम्बन्धित प्रदेशका जिल्लाको संख्याभन्दा नघट्ने र अधिकतम सो संख्याको १० गुणासम्म प्रतिनिधित्व सुनिश्चित गरिने प्रावधानले अधिवेशनलाई अझ व्यापक बनाउने अपेक्षा गरिएको छ।
प्रतिनिधि पठाउँदा नाम, जन्ममिति, सम्पर्क नम्बर, आबद्ध संस्था/पद लगायतका प्रतिनिधि विवरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ।
प्रतिनिधि सदस्यता शुल्क १०,००० कोरियन वन तोकिएको छ। शुल्क अनिवार्य रूपमा पठाउनुपर्ने सूचनामा उल्लेख छ।
समितिले विशेष अनुरोध गर्दै अधिवेशनको व्यवस्थापन र प्रतिनिधि प्रमाणीकरण समयमै सम्पन्न गर्न मार्च ४ तारिख बुधबार साँझ १२ बजेसम्म सम्पूर्ण विवरण निर्वाचन समितिलाई बुझाइसक्न आग्रह गरेको छ।
१९औँ अधिवेशनलाई दक्षिण कोरियास्थित नेपाली समुदायको एकता, सहकार्य र सशक्त नेतृत्व चयनको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। विभिन्न सामाजिक संघ-संस्थाको सक्रिय सहभागिताले अधिवेशनलाई अझै समृद्ध र ऐतिहासिक बनाउने विश्वास आयोजकहरूको छ।
सम्पूर्ण संघ-संस्थालाई समयमै प्रतिनिधि पठाई अधिवेशनलाई सफल बनाउन समितिले हार्दिक आह्वान समेत गरेको छ।