दक्षिण कोरियाको प्रमुख सरकारी स्वामित्वको वित्तीय संस्था Industrial Bank of Korea (IBK) ले आफ्नो बैंकिङ प्रणाली स्तरोन्नतिको तयारी स्वरूप मार्च १, २०२६ (आइतबार) का दिन करिब १२ घण्टासम्म बैंकिङ सेवा अवरुद्ध हुने जानकारी दिएको छ।
बैंकद्वारा जारी सूचनाअनुसार उक्त दिन राति १२ बजेदेखि दिउँसो १२ बजेसम्म आइबीके बैंकसँग सम्बन्धित अधिकांश वित्तीय सेवा अस्थायी रूपमा सञ्चालनमा नआउनेछन्। यस अवधिमा रकम स्थानान्तरण, नगद जम्मा, एटिएमबाट रकम झिक्ने, डेबिट कार्ड प्रयोग, मोबाइल तथा इन्टरनेट बैंकिङ, एपमार्फत हुने भुक्तानी सेवा पूर्ण रूपमा बन्द रहने बैंकले स्पष्ट पारेको छ।
तर, प्रणाली सुधारका क्रममा पनि क्रेडिट कार्डमार्फत गरिने भुक्तानी सेवा भने निरन्तर सञ्चालनमा रहने बताइएको छ। साथै, ग्राहकहरूको सुविधा मध्यनजर गर्दै आइबीके ग्राहक सेवा केन्द्रमार्फत गुनासो तथा परामर्श सेवा भने नियमित रूपमा उपलब्ध हुने जनाइएको छ।
बैंकका अनुसार सो अवधिमा डेबिट कार्ड प्रयोग गरी कुनै पनि किसिमको भुक्तानी गर्न नसकिने भएकाले ग्राहकहरूलाई आवश्यक आर्थिक कारोबार समयमै सम्पन्न गर्न आग्रह गरिएको छ। कार्ड हराएको वा आपतकालीन जानकारी आवश्यक परेमा BC कार्ड ग्राहक केन्द्र (1588-4515) मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
आइबीके बैंकले यो प्रणाली स्तरोन्नति कार्य सेवाको सुरक्षा, स्थायित्व र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले गरिएको स्पष्ट गर्दै, सेवा अवरोधका कारण ग्राहकहरूमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना व्यक्त गरेको छ।