सुदूरपश्चिम समाज दक्षिण कोरिया र बुङ्गल नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित दुईदिने एकीकृत विशेषज्ञ स्वास्थ्य सेवा शिविरबाट २ सय १२ जना नागरिक लाभान्वित भएका छन्।
निशर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, धनगढी कैलालीको प्राविधिक तथा चिकित्सकीय सहकार्यमा बुङ्गल नगरपालिका–४ स्थित खिरातडी स्वास्थ्य चौकीमा शुक्रबार र शनिबार उक्त शिविर सम्पन्न गरिएको हो।
बुङ्गल नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कलक बहादुर बोहराका अनुसार शिविरको पहिलो दिन शुक्रबार ६६ जना महिला र ३६ जना पुरुष गरी १ सय २ जना तथा दोस्रो दिन शनिबार ७६ जना महिला र ३४ जना पुरुष गरी १ सय १० जनाले स्वास्थ्य सेवा लिएका थिए। यसरी दुई दिनमा जम्मा २ सय १२ जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका हुन्।
शिविरमा सामान्य चिकित्सक तथा नसारोग विशेषज्ञ, जनरल सर्जरी विशेषज्ञ, मुख तथा दन्त रोग विशेषज्ञ र मानसिक रोग विशेषज्ञबाट स्वास्थ्य परीक्षण, रोग पहिचान तथा परामर्श सेवा प्रदान गरिएको थियो। साथै भिडियो एक्स–रे सेवा, प्रयोगशाला तथा ल्याब परीक्षण, निःशुल्क औषधि वितरण र आवश्यक स्वास्थ्य परामर्शसमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ।
स्वास्थ्य सेवाबाट टाढा रहेका दुर्गम तथा सेवा–वञ्चित क्षेत्रका नागरिकहरूलाई लक्षित गरी आयोजना गरिएको यस शिविरले स्थानीय बासिन्दालाई घरदैलोमै सहज, गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर दिएको सहभागीहरूले बताएका छन्।
आयोजक सुदूरपश्चिम समाज दक्षिण कोरियाले प्रवासमा रहेर पनि मातृभूमिका नागरिकको स्वास्थ्य, शिक्षा र सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाउँदै यस्ता स्वास्थ्य शिविरलाई आगामी दिनहरूमा पनि निरन्तरता दिइने जनाएको छ।