गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनको मोडालिटीलाई लिएर संघभित्र बहस चर्किएको छ । संघको एउटा ठुलो समूह र अभियन्ताहरुले यस पटकको निर्वाचन काठमाडौँमै भौतिक उपस्थितिमा गराउनुपर्नेमा जोड दिएका छन भने बद्री केसी समूहका केही अभियन्ता भने पूर्ण अनलाइन भोटिङ प्रणालीको पक्षमा देखिएका छन् । यही रस्साकस्सीकाबीच शनिबार बसेको स्टेरिङ कमिटीको आठौँ बैठकले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर मात्रै निर्वाचन प्रक्रियाबारे अन्तिम निर्णय लिने सहमति गरेको छ ।
महासचिव गौरीराज जोशीद्वारा सञ्चालित उक्त बैठकमा निर्वाचनको प्रक्रिया र विवादित विषयमा परराष्ट्र मन्त्रालयसँग औपचारिक छलफल गर्ने निर्णय भएको हो । बैठकले अध्यक्षद्वय महेश कुमार श्रेष्ठ र बद्री केसीको अगुवाइमा कानुनविदसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग समन्वयकारी बैठक आयोजना गर्ने निधो गरेको छ । यसका लागि ३ देखि ५ दिनभित्र मन्त्रालयसँग औपचारिक पत्राचार गरी छलफलको समय मिलाइने बताइएको छ । उक्त समन्वयकारी बैठक सम्पन्न भएपछि मात्र निर्वाचन प्रक्रियासम्बन्धी लिखित नोट वा आधिकारिक माइन्युट तयार गरिनेछ । नेपालमा भौतिक रूपमा उपस्थित हुन नसक्ने स्टेरिङ कमिटीका सदस्यहरूलाई अनलाइन माध्यमबाटै मन्त्रालयसँगको छलफलमा सहभागी गराइनेछ ।
निर्वाचनको मोडालिटीमा विवाद भए पनि संघले प्राविधिक तयारी भने अघि बढाउने संकेत गरेको छ । बैठकले एनआरएनए सचिवालयलाई अन्तर्राष्ट्रिय स्तरको विश्वसनीय अनलाइन भोटिङ कम्पनीको खोजी गर्ने जिम्मेवारी समेत दिएको छ । सो सम्बन्धी विस्तृत प्रस्ताव आगामी बैठकमा पेस गर्न निर्देशन दिइएको छ ।
यसैगरी, बैठकले महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट) छनोटको समयतालिका समेत निर्धारण गरेको छ । नयाँ वा छुटेका सदस्यता आवेदनको समयावधि २०२६ जनवरी २५ तारिख राति १२ बजेबाट स्वतः बन्द हुने निर्णय गरिएको छ । सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई जनवरी ३१ मा सदस्यताको अन्तिम नामावली प्रकाशित हुने जानकारी गराइनेछ र सोही मितिलाई ‘कट अफ डेट’ मानिनेछ ।
एनसीसीहरूले १ फेब्रुअरीदेखि १० फेब्रुअरी २०२६ सम्म डेलिगेट सिफारिस गर्नुपर्ने र १४ फेब्रुअरीभित्र विवरण सचिवालयमा पठाइसक्नुपर्ने समयसीमा तोकिएको छ । साथै, एउटै देशमा दुई फरक टिम वा विवाद देखिएको हकमा डेलिगेट कसरी चयन गर्ने भन्ने विषयमा कार्यविधि तयार गरी ३१ जनवरीभित्र निर्णय गरिनेछ ।
तोकिएको सदस्यता शुल्क (मेम्बरसिप फि) नबुझाएमा सम्बन्धित देशका प्रतिनिधिहरूले महाधिवेशनमा भाग लिन नपाउने गरी कडाइ गरिएको छ । आगामी बैठकमा १२ औँ महाधिवेशनको मुख्य नाराका विषयमा पनि छलफल गरी प्रस्ताव पेस गरिने संघले जनाएको छ । महाधिवेशन आगामी मार्च १३ देखि १५ सम्म काठमाडौँको होटल सोल्टीमा आयोजना हुनेछ ।