दक्षिण कोरियामा क्रियाशील नेपाली समुदायको साझा संस्था नेपाली सम्पर्क समिति (NCC) को बैठक २०२६ जनवरी २४ मा सम्पन्न भएको छ। बैठकले संगठनको आगामी अधिवेशनको मिति तय गर्दै नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने महत्वपूर्ण निर्णय गरेको छ।
दोङ्देमुनस्थित निक नेपाल ट्राभलको सभाहलमा सम्पन्न बैठकले NCC को अधिवेशन आगामी २०२६ मार्च १५ मा आयोजना गर्ने निर्णय गरेको हो। अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न संयोजक लोचन चाम्लिङ राईको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ।
बैठकले निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी तथा विधानअनुसार सम्पन्न गराउने जिम्मेवारी निर्वाचन मण्डललाई प्रदान गरेको छ। साथै, केन्द्रीय तथा क्षेत्रीय प्रतिनिधि छनोट प्रक्रिया २०२६ मार्च १ भित्र पूरा गर्ने निर्णय पनि गरिएको छ।
अधिवेशनको तयारीस्वरूप सदस्यता कार्ड वितरण तथा संगठनका अभिलेख अद्यावधिक गर्ने निर्णय बैठकले गरेको छ। संगठनलाई थप व्यवस्थित, प्रभावकारी र समुदायमुखी बनाउँदै कोरियामा रहेका नेपालीहरूको अधिकार, हित र सरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने विषयमा पनि बैठकमा विस्तृत छलफल भएको छ।
बैठक अध्यक्ष हरी प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा NCC कोरियाका संरक्षक, सल्लाहकार, विभागीय प्रमुख, प्रदेश अध्यक्ष, विधान समितिका संयोजक तथा सदस्यहरू लगायत कार्यसमितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।