बिनोद पौडेल।जेन–जी आन्दोलनपछि नेपालका पुराना राजनीतिक दलहरूमा गडेर बसेका बेथिति र विकृतिको जरा उखेल्नुपर्ने आवाज तीव्र बन्दै गएको छ। वास्तवमै, दशकौँदेखि भ्रष्टाचारको अखडा बनेको, शासनसत्तामा केही सीमित दल र नेताहरूको हालिमुहालीका कारण आम नेपाली जनतामा गहिरो असन्तोष पैदा भएको अवस्थामा जेन–जी आन्दोलन एक निर्णायक मोडका रूपमा उदायो।
त्यस आन्दोलनपछिको बदलिँदो राजनीतिक माहोल र प्रतिनिधिसभा निर्वाचनको जनादेशसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले केही आशा जगाए पनि, मुलुक अझै संक्रमणकालीन राजनीतिबाट मुक्त भइसकेको देखिँदैन। निर्वाचन आयोगले २०८२ साल फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन कार्यतालिका अनुसार तयारी तीव्र बनाइरहेको अवस्थामा, देशकै सबैभन्दा पुरानो दल नेपाली कांग्रेस भने आन्तरिक किचलोमा फस्दा निर्वाचन नै प्रभावित हुने हो कि भन्ने चिन्ता बढ्दै गएको छ।
नीति र नेतृत्व परिवर्तनको माग गर्दै नियमित महाधिवेशन वा त्यो सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने आवाज कांग्रेसभित्र चर्किँदै गयो। विधानअनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दा पनि तत्कालीन केन्द्रीय समिति त्यसतर्फ तयार नभएपछि, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा गत पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गरियो।
यस क्रममा सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय समितिसँग असहमति रहेका विषयमा वार्ता र छलफल भए, समाधानका उपाय खोजिए। जेन–जी आन्दोलनपछि पार्टीको सक्रिय भूमिकाबाट पछि हट्ने घोषणा गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। तर पछिल्लो समय देउवा पुनः पार्टीको अदृश्य सर्वोच्च भूमिकामा सक्रिय भई हस्तक्षेप गर्न थालेको आरोप विशेष महाधिवेशन पक्षधरहरूले लगाएका छन्।
त्यसैको परिणामस्वरूप गगन थापा, विश्वप्रकाश शर्मा र सह–महामन्त्री फर्मुल्लाह मन्सुरमाथि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको समितिले कारबाही गरेपछि नेपाली कांग्रेस खुला विभाजनको संघारमा पुगेको देखियो। उता भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनलाई देउवा निकट संस्थापन पक्षले ‘अवैधानिक’ भन्दै अस्वीकार गरिरहे पनि, गगन थापाको नेतृत्वमा चयन भएको नयाँ केन्द्रीय समितिले निर्वाचन आयोगबाट आधिकारिकता पाइसकेको अवस्था छ।
दुई पक्षबीचको आधिकारिकताको लडाइँमा सुरुवातमा तटस्थ देखिएका धेरै नेता–कार्यकर्ता अहिले क्रमशः गगन थापाको पक्षमा खुल्दै जान थालेका छन्। तर शेखर कोइराला, चन्द्र भण्डारी, शशांक कोइराला जस्ता शीर्ष नेताहरूको तटस्थ भूमिकाले कार्यकर्ता पंक्तिमा अझै अन्योल कायमै छ।
गुटगत राजनीतिक खिचातानीका बीच पार्टीभित्र विद्रोहको नेतृत्व गरेका गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक उचाइ चुलिँदै गएको छ भने, सत्ता र स्वार्थमा अल्झिएका पुराना नेताहरूको राजनीतिक उचाइ क्रमशः खस्कँदै जाने विश्लेषण हुन थालेको छ। देशको एक बलियो लोकतान्त्रिक दलमा देखिएको यस्तो गहिरो आन्तरिक संकटले समग्र लोकतान्त्रिक प्रणालीमै नकारात्मक असर पार्ने खतरा स्पष्ट देखिन्छ।
लोकतान्त्रिक व्यवस्थालाई विचलनतर्फ जान नदिन, आम प्रजातन्त्रप्रेमी कांग्रेस कार्यकर्ताबीच भावनात्मक एकता कायम राख्नु आजको प्रमुख आवश्यकता हो। पार्टीलाई विघटन र विभाजनबाट जोगाउने जिम्मेवारी नेतृत्व पंक्तिकै काँधमा छ। तर निर्वाचनको संवेदनशील घडीमा यसरी आन्तरिक किचलो चर्कँदा ‘भाइ फुटे गँवार लुटे’ भन्ने उखान नेपाली कांग्रेसको सन्दर्भमा चरितार्थ हुँदै गएको देखिन्छ।