किशोर कोईराला, सुवन।दक्षिण कोरियामा बसोबास गर्दै आएका किरात कुलुङ समुदायले आफ्नो मौलिक सांस्कृतिक पहिचान र परम्परालाई जीवन्त राख्दै किरात नयाँ वर्ष ‘येले दोंग ५०८६’ लाई हर्षोल्लास र भव्यताका साथ मनाएका छन्।
किरात कुलुङ समाज दक्षिण कोरियाको आयोजनामा कोरियाको सुवनस्थित सराक एभेरेष्ट रेस्टुरेन्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा समुदायका सदस्यहरूको उल्लेखनीय तथा उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले राष्ट्रिय पोशाक, परम्परागत पहिरन तथा सांस्कृतिक आभूषणमार्फत किरात सभ्यता र संस्कृतिको अनुपम झल्को प्रस्तुत गरेका थिए।
.jpeg)
समाजका अध्यक्ष उदिप कुलुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा किरात राई यायोक्खा दक्षिण कोरियाका प्रमुख सल्लाहकार पुरन याम्फूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि याम्फूले प्रवासमा रहे पनि आफ्नो भाषा, संस्कृति, परम्परा र सामाजिक एकतालाई निरन्तर संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
सल्लाहकार आंग दावा तामाङले यस्ता सांस्कृतिक पर्वहरूले समुदायबीच आपसी सद्भाव, सहकार्य र पहिचानको भावना अझ सुदृढ बनाउने उल्लेख गरे।
त्यसैगरी कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी प्रवासी नेपाली समाज दक्षिण कोरियाका अध्यक्ष अन्जन कुलुङ राईले प्रवासमा रहेका नेपाली समुदायबीच एकता र पहिचान जोगाउन सबैले साझा पहल गर्नुपर्नेमा जोड दिए। उनले सांस्कृतिक तथा सामाजिक संस्थाहरू सबैका साझा हुने भएकाले यस्ता संस्थालाई राजनीतिक प्रभावबाट टाढा राख्नुपर्ने धारणा व्यक्त गरे।
उनले व्यक्तिले आफ्नो विचारअनुसार राजनीति गर्न पाउने अधिकार भए पनि संस्थागत रूपमा राजनीति गर्नु उपयुक्त नहुने स्पष्ट पार्दै संस्थाहरूले भाषा, संस्कृति, पहिचान र सामाजिक एकताको संरक्षणमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको सुरुआत किरात कुलुङ समुदायको परम्परागत पूजाआजाबाट गरिएको थियो। पूजाआजामा समुदायको समृद्धि, सुख, शान्ति र दीर्घायुको कामना गरिएको थियो। धार्मिक तथा सांस्कृतिक विधिपश्चात् औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो।
औपचारिक कार्यक्रमपछि सहभागीहरूले किरात समुदायका मौलिक परम्परागत गीत, संगीत तथा नृत्यमा सक्रिय सहभागिता जनाउँदै कार्यक्रमलाई अझ रौनकपूर्ण बनाएका थिए। सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रममा उपस्थित सम्पूर्णलाई भावनात्मक रूपमा जोड्नुका साथै प्रवासमा पनि आफ्नोपनको अनुभूति दिलाएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण अतिथि, कलाकार, आयोजक समिति तथा सहभागीहरूप्रति किरात कुलुङ समाज दक्षिण कोरियाले धन्यवाद व्यक्त गरेको छ। साथै समाजले आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रममार्फत समुदायलाई एकताबद्ध गर्दै मौलिक पहिचानको संरक्षणमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएको छ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
