नयाँ दैनिकी/दक्षिण
कोरिया नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ५ लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ।
समितिले सञ्चालन गरेको आन्तरिक राहत संकलन अभियानबाट जम्मा भएको उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नेपाली कांग्रेस केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत हस्तान्तरण गरिएको समितिले जनाएको छ।
बाढीबाट सुनकोशी, भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रसहित नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति समितिले दुःख व्यक्त गरेको छ। ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारको उचित पुनर्स्थापनाका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ।
राहत अभियानमा स्वेच्छिक रूपमा आर्थिक सहयोग गर्ने अग्रज, पदाधिकारी, सदस्य, क्षेत्रीय कार्यसमिति, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूप्रति समितिले धन्यवाद व्यक्त गरेको छ।
राहत संकलन अभियानका संयोजक तथा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र बहादुर क्षेत्रीले विपद्को कठिन घडीमा देखाइएको सहयोग र ऐक्यबद्धता प्रेरणादायी रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

