नयाँ दैनिकी/काठमाडौँ
नेपालमा हालसालै आएको प्राकृतिक विपद्का कारण प्रभावित भएका नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले नुगा मेडिकल कोरिया, नुगाबेष्ट नेपाल तथा नुगाबेष्टका वितरकहरूको संयुक्त पहलमा रु. २५ लाख राहत सहयोग प्रदान गरिएको छ।
उक्त सहयोग रकमको चेक नुगाबेष्ट नेपालका प्रबन्ध निर्देशक राजीव भण्डारीले आज अर्थ मन्त्रालयमा वरिष्ठ सहसचिब उत्तर कुमार खत्री लाई हस्तान्तरण गर्नुभएको हो।
प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको र पीडित नागरिकलाई तत्काल राहत तथा पुनर्स्थापनाका लागि सहयोग आवश्यक रहेको अवस्थामा संस्थाले आफ्नो व्यावसायिक जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै उक्त सहयोग गरेको जनाएको छ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक भण्डारीले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु व्यवसायिक संस्थाको मात्र नभई मानवीय दायित्वसमेत भएको बताउनुभयो। उहाँले नुगा मेडिकल कोरिया, नुगाबेष्ट नेपाल र देशभरका वितरकहरूको संयुक्त प्रयासमा संकलित सहयोग रकम सरकारको राहत कोषमार्फत वास्तविक पीडितसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो।
“विपद्को समयमा पीडितको दुःखमा साथ दिनु हाम्रो मानवीय कर्तव्य हो। स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्दै आएको संस्थाका रूपमा सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिएका छौँ,” भण्डारीले भन्नुभयो।
नुगा मेडिकल कोरिया र नुगाबेष्ट नेपालले आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस सहयोगले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना प्रयासमा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

