अशोक मैनाली,सौल।अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय र प्रतिष्ठित प्रकाशन संस्था एल्सेवियरले संयुक्त रूपमा प्रकाशित गरेको विश्वकै शीर्ष २% वैज्ञानिकहरूको सूची (२०२५ संस्करण) मा नेपाली वैज्ञानिक डॉ. ज्ञानेन्द्र प्रसाद जोशीको नाम समावेश भएको छ।
यो सूचीमा विश्वभरका लाखौँ वैज्ञानिकमध्ये आफ्ना–आफ्ना अनुसन्धान क्षेत्र र शैक्षिक योगदानका आधारमा उत्कृष्ट २% मात्र चयन हुन्छन्। यसमा पर्नु कुनै पनि अनुसन्धानकर्ताका लागि ठूलो गौरव र उपलब्धि मानिन्छ।
काङवोन विश्वविद्यालयमा प्राध्यापन
डॉ. जोशी हाल दक्षिण कोरियाको काङवोन विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका छन्। उनी त्यहाँको बौद्धिक कम्प्युटिङ र सञ्जाल प्रयोगशालाका प्रमुख अनुसन्धानकर्ता समेत हुन्।
यस प्रयोगशालामा बुद्धिमान कम्प्युटिङ, सञ्जाल प्रविधि, कृत्रिम बुद्धिमत्ता, र उदाउँदै गरेका सञ्चार प्रणाली सम्बन्धी अनुसन्धान केन्द्रित छ। प्रयोगशालाले नयाँ–नयाँ आविष्कार र अनुसन्धानमार्फत बुद्धिमान कम्प्युटिङ र सञ्चार प्रविधिको भविष्य निर्माण गर्ने लक्ष्य राखेको छ।
अन्तर्राष्ट्रिय सहकार्य
प्रयोगशालाले निरन्तर अन्तरविषयक तथा बहुविषयक अनुसन्धानलाई प्रोत्साहन गर्दै आएको छ। डॉ. जोशीले भनेका छन्, “हामी निरन्तर नयाँ खोजतर्फ अघि बढिरहेका छौं, ज्ञानको सीमालाई विस्तार गर्दै बुद्धिमान कम्प्युटिङ र सञ्चार प्रविधिको भविष्य निर्माण गर्दैछौं।”
नेपाली समुदायप्रति योगदान
शैक्षिक क्षेत्रमा सक्रिय मात्र नभई डॉ. जोशीले दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई पनि विभिन्न माध्यमबाट सहयोग पुर्याउँदै आएका छन्। उनी नेपाली विद्यार्थी र पेशागत क्षेत्रमा संलग्न व्यक्तिहरूलाई मार्गदर्शन गर्दै आएका छन्, जसले प्रवासमा रहेका नेपालीहरूलाई ठूलो सहयोग पुगेको छ।
नेपालको गौरव
डॉ. जोशीको नाम विश्वकै शीर्ष २% वैज्ञानिकको सूचीमा पर्नु नेपालका लागि ठूलो गर्व र प्रेरणाको विषय बनेको छ। यसले नेपालको वैज्ञानिक अनुसन्धान, शैक्षिक क्षमता र अन्तर्राष्ट्रिय स्तरमा नेपाली विज्ञहरूको योगदानलाई उजागर गरेको छ।