धेरै नेपाली युवाहरु रोजगारीका लागि विभिन्न देशमा जाने गरेका छन् । तर, त्यस मध्ये अधिकांश अदक्ष कामदार हुन्छन् । ती युवाहरुले विदेशमा कडा परिश्रम गरेर आय आर्जन गर्दछन् । तर, दुःखको कुरा तिनीहरुले कमाएर स्वदेशमा पठाएको रकम मध्ये अधिकांश रकम तिनीहरुका परिवारले उपभोग्य बस्तु तथा सेवा खरिद गर्न मै खर्च गर्दछन् । त्यसैले मुस्किलले नगण्य रकम मात्र बचत गर्ने गर्दछन् । प्रवासमा काम गर्ने नेपालीहरु उमेर छंदासम्म अर्काको देशका लागि पसिना बगाउछन् । जब उमेर ढल्दै जान्छ, तब बुढो शरिर लिएर स्वदेश फर्किन्छन् । ती प्रवासी नेपालीहरुको जागिर अस्थायी प्रकृतिको हुने गर्दछ । त्यसैले पेन्सन पाउदैनन् । उमेर छंदासम्म कमाएको पैसा पनि पारिवारिक खर्च मै सिद्घिसकेको हुन्छ । जब उमेर ढल्किदै जान्छ, न जागिर हुन्छ, न बचत नै ! फेरि उमेर ढल्किदै जांदा शारिरिकरुपले परिश्रम गर्नुपर्ने कार्य पनि गर्न सक्दैनन् । आम्दानीको स्रोत नभए पछि दैनिक गुजारा चलाउन पनि गाह्रो हुंदै जान्छ । त्यसैले, अधिकांश यस्ता प्रवासी नेपालीहरुको प्रौढ जीवन कष्टकर तरिकाले वितेको देखिन्छ । त्यसैले, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिले नेपाल सरकारसंग समन्वय गरेर “प्रवासी कामदार सुरक्षा कोष” स्थापना गर्नका लागि उपयुक्त हुन्छ कि हुदैन भन्ने निश्कर्षमा पुग्नका लागि यो अध्ययन गर्दैछ । हरेक प्रवासी नेपाली कामदारले आफुले हरेक पटक नेपालमा रकम पठांउदा जम्मा पठाएको रकमको १० प्रतिशत “प्रवासी कामदार सुरक्षा कोष” मा पठाउने व्यक्तिको नाममा जम्मा गर्ने व्यवस्था मिलाउने, उक्त रकममा बार्षिकरुपमा एक निश्चित प्रतिशत प्रतिफलको प्रत्याभूति गर्ने, सरकारको तर्फबाट केहि रकम उक्त व्यक्तिको खातामा जम्मा गर्न लगाउने, उक्त रकम लगानी गरेर कमाएको रकमबाट थप प्रतिफल दिने, पेन्सन कोष संचालन गर्ने संस्थाले दिने जस्तै विभिन्न सुबिधा दिने आदि सेवा सुबिधा दिने कल्पना उक्त प्रस्ताबित योजनाले गरेको छ । उक्त सुरक्षा कोष संचालन र नियमनका लागि “प्रवासी कामदार सुरक्षा कोष व्यवस्थापन प्राधिकरण” गठन गर्ने कल्पना गरिएको छ । गैर आवासीय नेपाली संघ र नेपाल सरकारका प्रतिनिधि तथा स्वतन्त्र विज्ञहरु सम्मिलित संचालक समितिले प्राधिकरणलाई संचालन गर्ने योजना बनाउने सोचिएको छ । यसो गर्न सकिएमा प्रवासी कामदारहरुको भविष्यमा नियमित आयस्रोतको व्यवस्था मिलाउन सकिने प्रचुर संभावना देखिएको छ । एकातिर नियमितरुपमा रकम बचत हुदै जाने र अर्कोतिर “प्रवासी कामदार सुरक्षा कोष” स्थापना गरी संचालन गर्न उपयुक्त हुन्छ कि हुंदैन भनेर अध्ययन गर्नका लागि उक्त कोषबाट प्रत्यक्ष लाभ लिने प्रवासी कामदारहरुलाई तल उल्लेखित प्रश्नहरु पठाइएको छ । उक्त अध्ययन प्रश्नहरुको प्रतिउत्तर दिएर सहयोग गर्नु हुन हार्दिक अनुरोध गरिन्छः
अध्ययन गर्नेः
राजेन्द्र कुमार शर्मा
उपाध्यक्ष, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति तथा Student, Executive MBA Program, HEC Paris
प्रकाशित मिति:
आईतबार, जेठ ८, २०७९, २०:११:००